पोखरा, १३ वैशाख। पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञ–२०८२ को श्रीमद्भागवत कथा प्रवचनको पूर्वसन्ध्यामा भक्तजन, साधुसन्त, लब्धप्रतिष्ठित व्यक्तित्व र राजनेताको उल्लेखनीय उपस्थिति देखिएको छ। शनिबारदेखि सुरु भएको प्रवचनमा देवी प्रतिभा र आचार्य शीतलकृष्ण महाराजले धार्मिक ज्ञान प्रवाह गरेका छन्।

कार्यक्रमको पहिलो दिन पोखरा महानगरपालिका वडा नं. २ का अध्यक्ष दिवशमान प्रधानाङ्गाले प्रमुख अतिथि भएर सहभागी हुँदै गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा आयोजना भएको बताए। उनले यस्तो धार्मिक अनुष्ठानले पोखराको सामाजिक र सांस्कृतिक पहिचानलाई बलियो बनाउने धारणा राखे। पोखरा आफैंमा पर्यटकीय नगरी भएकाले यस्ता कार्यक्रमले अन्तर्राष्ट्रियस्तरसम्म प्रभाव पार्ने र पर्यटन वर्ष सफल बनाउन योगदान पुर्‍याउने उनले बताए।

अध्यक्ष प्रधानाङ्गाले पोखराबासीलाई महायज्ञ सफल बनाउन विशेष भूमिका खेल्न आह्वान गरे। “यो सफल बनाउनु हामी सबै नेपालीको कर्तव्य हो,” भन्दै उनले यसलाई गहिरो राष्ट्रिय जिम्मेवारीका रूपमा प्रस्तुत गरे। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस कार्यक्रममार्फत सनातन परम्पराको संरक्षण र प्रचारप्रसार हुने उनको विश्वास छ।

महायज्ञको प्रवचन सत्रले धार्मिक, आध्यात्मिक र सामाजिक चेतना फैलाउँदै नवयुवा पुस्तालाई सनातन संस्कारमा प्रेरित गर्नसक्ने अपेक्षा आयोजकले गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0