पोखरा, १६ वैशाख। १४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतकको मद्दतले राजस्थान रोयल्सले आइपिएलमा लगातार पाँच हारपछि पहिलो जित हात पारेको छ। सोमबार जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।

पहिला ब्याटिङ गर्दै गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०९ रन बनाएको थियो। शुभमन गिलले ८४ रन र जोस बटलरले ५० रनको योगदान दिएका थिए। जवाफी ब्याटिङमा राजस्थानका लागि वैभव सूर्यवंशीले मात्र ३५ बलमा शतक पूरा गर्दै १०१ रनको विस्फोटक इनिङ खेले। उनलाई साथ दिएका यशस्वी जयसवालले ७० रन बनाउँदा रियान पराग ३२ रनमा अविजित रहे। राजस्थानले १६औँ ओभरमै लक्ष्य पूरा गर्दै सानदार जित दर्ता गर्‍यो।

वैभवले आइपिएल तथा टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक र शतक बनाउने कीर्तिमान स्थापित गरेका छन्। साथै, आइपिएलमा कुनै भारतीय खेलाडीले बनाएको सबैभन्दा छिटो शतक पनि उनको नाममा दर्ता भएको छ। बलिङतर्फ राजस्थानका महीश तीक्षणाले २ विकेट लिएका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0