पोखरा, १७ वैशाख। अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। मंगलबार कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापासँग सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
थापामाथि अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए। उनीहरूले थापाले सार्वजनिक रूपमा अदालतको निर्णय प्रक्रिया र निष्क्रियता बारे गरेको टिप्पणीलाई अदालतको गरिमा र स्वतन्त्रता विरुद्ध ठहर गर्दै कानुनी कारबाहीको माग गरेका हुन्।
थापाले गत बिहीबार ५२ वटा संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाहरू सर्वोच्च अदालतले लामो समयदेखि किनारा नलगाएर ‘डिल’ गरिरहेको अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीपछि उनीमाथि न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा हस्तक्षेप गर्ने प्रयत्न गरेको आरोप लागेको हो।
सर्वोच्च अदालतले संविधान र कानूनको मर्मअनुसार न्यायपालिकाको गरिमा कायम राख्न आग्रह गर्दै यस्ता संवेदनशील विषयमा सार्वजनिक धारणा राख्दा सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ। अब थापाले अदालतमा पेश गर्ने लिखित जवाफपछि उक्त मुद्दाको आगामी कार्यवाही तय हुने जनाइएको छ।





























