पोखरा, १७ वैशाख। नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आएको फेरबदलपछि प्राधिकरणको आर्थिक अवस्था र अघिल्ला कार्यकालका निर्णयबारे सार्वजनिक गर्न लागिएको श्वेतपत्र अन्तिम समयमा आएर स्थगित गरिएको छ। मंगलबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भनिएको श्वेतपत्र ‘प्राविधिक कारण’ देखाउँदै स्थगित गरिएको हो।

नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले दिएको जानकारीअनुसार अर्को सूचना नआएसम्मका लागि श्वेतपत्र सार्वजनिक कार्यक्रम रोकिएको हो। सोमबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ७५ पृष्ठको श्वेतपत्र पारित गरेपछि सार्वजनिक गर्ने तयारी गरिएको थियो। पत्रकार सम्मेलनका लागि मिति र समयसमेत तोकिएको थियो तर मंगलबार बिहानै आकस्मिक रूपमा सूचना पठाएर कार्यक्रम स्थगन गरियो।

प्राधिकरण स्रोतका अनुसार ऊर्जा मन्त्री खड्का र उनको टिम श्वेतपत्रको सामग्रीप्रति असन्तुष्ट देखिएपछि सार्वजनिक कार्यक्रम रोकिन पुगेको हो। मन्त्रालयबाट केही तथ्यांक सच्याउन निर्देशन आएपछि तत्काल निर्णय गर्न नसक्दा प्रक्रिया रोकिएको हो।

श्वेतपत्रमा कुलमान घिसिङको कार्यकालको समीक्षा, प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड, चालु आर्थिक वर्षको नाफा ९ अर्ब ४८ करोड भए पनि आयकर ऐन अनुसारको गणनामा ५ अर्ब २६ करोड घाटा देखिएको छ। यस्तै, विद्युत चुहावट १४.८५ प्रतिशत र विद्युतीकरण दर ९१.४१ प्रतिशत रहेको उल्लेख गरिएको छ।

श्वेतपत्रमा उल्लेख अनुसार प्राधिकरणले ११ अर्ब ६१ करोड ठेक्कापट्टा भुक्तानी दिन बाँकी भए पनि १० अर्ब १० करोड मौज्दात छ। सरकारबाट पाउने शोधभर्ना १४ अर्ब १० करोड रहेको छ भने प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब छ।

प्राविधिक रूपमा दक्ष मानिएका कार्यकारी निर्देशक शाक्यले तयार पारेको श्वेतपत्र रोकिनु र मन्त्रीको असहमति आउनुले अब सार्वजनिक हुने श्वेतपत्रप्रतिको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठाउन थालेको देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0