पोखरा, १९ वैशाख। छिमेकी भारतबाट नेपालमा आयात भइरहेको विद्युत् आपूर्तिको समय चार घण्टा थपिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत आइरहेको विद्युत् आपूर्तिको समय बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्मबाट बढाएर अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युत् आपूर्तिको समयावधि विस्तार गरिएको हो। यसले विशेषगरी औद्योगिक क्षेत्रका लागि साँझ ५ बजेसम्म भरपर्दो विद्युत् उपलब्ध गराउन सक्नेछ।
हाल देशका नदी र खोलानालामा पानीको बहाव बढेसँगै जलविद्युत् उत्पादनमा सुधार आए पनि आन्तरिक उत्पादनले मात्र औद्योगिक क्षेत्रको उच्च माग धान्न नसक्ने भएकोले भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणले औद्योगिक ग्राहकहरूको विद्युत् अभावसम्बन्धी गुनासोलाई सम्बोधन गर्न अधिकतम मूल्य तिरेर समेत भारतबाट आवश्यक विद्युत् आयात गरिरहेको जनाएको छ। नियमित आपूर्ति सुनिश्चित गर्न गरिएको यो प्रयासले औद्योगिक विकासलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्युत् आपूर्तिको समयावधि विस्तार गर्न सहयोग गरेको भन्दै प्राधिकरणले भारत सरकारप्रति आभार व्यक्त गरेको छ।





























