पोखरा, १९ वैशाख। पोखराका फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) द्वारा प्रदान गरिने गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन्। काठमाडौंमा सम्पन्न ५औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड समारोहमा थापाले उक्त सम्मान हात पारेका हुन्।

थापा प्रेमपरिचय डटकमका फोटो पत्रकार तथा इभेण्ट पोखराका सञ्चालक हुन्। यसअघि पनि उनले ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रादेशिक ललितकला प्रदर्शनी २०८० मा सम्मान प्राप्त गरिसकेका थिए। उनले यसअघि पनि एनएफपीजेले आयोजना गरेको कार्यक्रमबाट फोटो पत्रकारिताको विधामा सम्मान पाइसकेका छन्।

कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले थापालाई प्रशंसा पत्र तथा ट्रफी हस्तान्तरण गरेका थिए। अन्तिम चरणमा मनोनयनमा परेका अन्य प्रतिस्पर्धी विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य र सागर गिरीलाई पछि पार्दै थापाले अवार्ड जित्न सफल भएका हुन्।

फोटो पत्रकारिता विधाका निर्णायक मण्डलमा प्रदीपराज वन्त संयोजक थिए भने अन्य निर्णायकमा वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञ सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल रहेका थिए।

अवार्ड जितेपछि थापाले खुशी व्यक्त गर्दै आफ्नो मेहनतको मूल्य पाएको अनुभूति सुनाए। उनले आगामी दिनमा पनि फोटो पत्रकारितामा निरन्तरता दिँदै अझ निष्ठापूर्वक कार्य गरिरहने प्रतिबद्धता जनाए।

कार्यक्रममा सभामुख घिमिरेले फोटो पत्रकारितालाई लोकतान्त्रिक समाजको ऐनाको रूपमा व्याख्या गर्दै सत्यका दस्तावेज प्रस्तुत गर्ने माध्यम भएको बताए। उनले लोकतन्त्रमा फोटो पत्रकारिताले शब्दभन्दा बढी प्रभाव पार्ने दृश्य सन्देश दिन सक्षम रहेको उल्लेख गरे। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले पनि फोटो पत्रकारहरूको निष्पक्षता र सत्य उजागर गर्ने साहसको प्रशंसा गर्दै फोटो पत्रकारिता भ्रम हटाउने सक्षम अस्त्र भएको बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0