पोखरा, २० वैशाख। वैश्विक अर्थतन्त्र सङ्कटको छायामा रहँदा पनि नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ। कोभिड–१९ र रुस–युक्रेन युद्धपछिका अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाका अवरोध र मुद्रास्फीतिको असरका बीच नेपालले आन्तरिक सूचक सुधार्दै आर्थिक गतिमा पुनः लय फर्काउने संकेत देखाएको छ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनासम्मको विवरणअनुसार सरकारी खर्च, राजस्व संकलन, विप्रेषण र मुद्रास्फीति नियन्त्रण जस्ता सूचकमा सकारात्मक सुधार देखिएको छ। फागुन मसान्तसम्म संघीय सरकारको कुल खर्च ८ खर्ब ४१ अर्ब पुगेको छ भने साधारण खर्च र पुँजीगत खर्च क्रमशः ०.६ र १.७ प्रतिशतले बढेका छन्। यो अवधिमा साँवाब्याज तिर्ने खर्च भने २५.१ प्रतिशतले बढेको देखिन्छ।

राजस्व संकलनमा १२.७ प्रतिशतको वृद्धि भई सात खर्ब २० अर्ब पुगेको छ। करदाताको संख्या बढेसँगै राजस्वमा सुधार आएको देखिएको छ। स्थायी लेखा नम्बर लिने व्यक्तिको संख्या ५ लाख ११ हजार नाघ्दा कुल करदाताको संख्या ६७ लाख नजिक पुगेको छ।

महँगी नियन्त्रणमा रहेको मुद्रास्फीति ३.७५ प्रतिशतमा सीमित छ, जुन वार्षिक लक्ष्यभन्दा कम हो। निर्यात ५७.२ प्रतिशतले बढ्दा आयात ११.२ प्रतिशतले मात्रै वृद्धि भएको छ, जसले स्वनिर्भर अर्थतन्त्रप्रति आशा जगाएको छ। त्यस्तै, विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब नाघेको छ, जसले विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९४ अर्ब पु-याएको छ।

हाल देखिएको सुधार स्थायी र समावेशी विकासतर्फको संकेत भए पनि समग्रतामा अझै गम्भीर सुधार र दीर्घकालीन योजना आवश्यक रहेको विज्ञहरू बताउँछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0