पोखरा, २३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले वर्तमान सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कार्यक्रमहरूको नाम मात्र नक्कल गरेको तर उनीहरूको कार्यशैली र क्षमताको अनुसरण गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले प्रधानमन्त्री कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण, राष्ट्रपति शैक्षिक सुधारजस्ता योजनाहरू भारतबाट साभार गरिएको जस्ता देखिए पनि त्यसअनुसारको डेलिभरी र कार्यशैली प्रस्तुत गर्न नसकेको बताए।
उनले सरकारले नयाँ नाम त राखेको छ, तर कार्यान्वयनको कमजोरीले नामको पनि बदनामी नहोस् भन्ने चेतावनी दिए। वाग्लेले दुईतिहाइ बहुमतको सरकारलाई विश्व इतिहासकै दुर्लभ प्रयोग भन्दै त्यसबाट अपेक्षाअनुसार परिणाम ननिस्केको गुनासो गरे। उनले यस्तो दुर्लभ बहुमत भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र आर्थिक स्थायित्वमा प्रयोग हुनुपर्नेमा उल्टै योग्य र कर्मठ व्यक्तिहरूलाई हटाउन प्रयोग गरिएको आरोप लगाए।
सरकार गठनका बेलामा राखिएको सात बुँदे प्रतिबद्धता कुनै पनि प्रक्रियामा अगाडि नबढेको भन्दै उनले सत्तारूढ दलभित्रकै नेताहरूसमेत सरकारप्रति निराश रहेको जनाए। ५६ पृष्ठको नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भए पनि आवश्यक गम्भीर नीति तथा कार्यक्रमको अभाव रहेको उनको भनाइ थियो। उनले सरकार फेल भएमा व्यवस्थामै प्रश्न उठ्ने खतरा रहेको स्पष्ट गर्दै अहिलेको सरकार गभर्नर नियुक्ति जस्ता मामुली विषयमा अल्झिएको आरोप लगाए।





























