पोखरा, २६ वैशाख। श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजको दिन उल्लास, श्रद्धा र सांस्कृतिक चेतनाले भरिएको रह्यो। पोखरामा जारी महायज्ञमा आज साधु-सन्तदेखि हास्य कलाकार र ख्यातिप्राप्त गायक-गायिकासम्मको सहभागीता रहेको थियो। कार्यक्रमले धार्मिक आस्थासँगै सांस्कृतिक र सामाजिक एकताको सन्देश दिएको छ।

आजको विशेष आकर्षण चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’, साथै गायिका समीक्षा अधिकारी र पार्वती जिसीको सांगीतिक प्रस्तुति रहेको थियो। यस सांगीतिक माहोलसँगै महायज्ञको प्रभाव अझ सशक्त देखिएको छ। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य प्रमुख अतिथिका रूपमा सहभागी भइन् भने टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीसहित विभिन्न विशिष्ट व्यक्तित्वहरू र सयौँ विद्यार्थी स्वयंसेवकको उपस्थिति थियो।

कोटिहोममा विभिन्न व्यक्तिहरूले धार्मिक भावनाले प्रेरित भएर महादानसमेत गरेका छन्। प्रशासकीय अधिकृत बिसीले आफ्नै भजनको भिडियो विमोचन गरी २५ हजार रुपैयाँ दान गरेका छन्। यस्तै, हरिलक्ष्मी गुरुङले १ लाख १ सय ५ रुपैयाँ, कमला गिरिले १ लाख २१ हजार र मौलाकालिका मन्दिर सेव समितिबाट २५ रुपैयाँ दान गरिएको छ।

महायज्ञ संयोजक ढकालका अनुसार वैशाख २७ गते शनिबार ९ बजे तीनदेखि नौ वर्ष उमेर समूहका एक हजारभन्दा बढी कन्यालाई पूजा गरिनेछ। सोही दिन बिहान १० बजे एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने तयारी भइरहेको छ। शनिबार लोकगायक पशुपति शर्मा र गायिका राधिका हमालको विशेष भजन कार्यक्रम हुनेछ भने आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति हुनेछ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिका अनुसार साधु-सन्त, प्रदेश सरकारका मन्त्री, सांसद, राजनेता र भक्तजनको उत्साहजनक सहभागिताले कार्यक्रम सफल बन्दै गएको छ। जेठको पहिलो साता ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने तयारी पनि भइरहेको छ। प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू सहभागि हुनेछन्। प्रथम पुरस्कार ५१ हजार १ सय ५१ रुपैयाँ राखिएको छ।

वैशाख २९ गते चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, तुला दान, २१ कोटि दीप प्रज्वलन, रुद्राभिषेक लगायतका धार्मिक अनुष्ठानहरू आयोजना गरिनेछन्। ४ सयभन्दा बढी ब्राह्मणहरूद्वारा दैनिक आहुति अर्पण भइरहेको कोटिहोममा जौ, तिल, घिउ लगायत सामग्री दान र हवन कुण्ड परिक्रमाको व्यवस्थासमेत गरिएको छ।

कोटिहोम स्थलमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, कथा वाचिका राधिका दासी, देवी चन्द्रकला सखी र चैतन्यकृष्ण महाराजका प्रवचन हुनेछन्। साथै, भजन प्रतियोगिता, रक्तदान, रामायण प्रवचन र देव लीला, नृत्य जस्ता प्रस्तुति निरन्तर भइरहेका छन्। पोखरा १७ को सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको परिसरमा सञ्चालित कोटिहोम जेठ २६ गतेसम्म सञ्चालनमा रहनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0