पोखरा, २८ वैशाख। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको प्रांगणमा सञ्चालनमा रहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले शनिबार विशेष धार्मिक तथा सामाजिक कार्यक्रममार्फत श्रद्धालुहरूको मन जितेको छ। महायज्ञमा देशभरबाट हजारौं भक्तजनको सहभागिता रहेको थियो भने आयोजकहरूलाई सहभागीको व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो।
शनिबारको कार्यक्रमको विशेष आकर्षणको रूपमा तीनदेखि नौ वर्षसम्मका एक हजारभन्दा बढी कन्या पूजनमा सहभागी गराइएका थिए। साथै, ७० वर्षभन्दा माथिका एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरी धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोडिएको सन्देश दिइएको छ। वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले वैदिक परम्पराअनुसार विधिपूर्वक पूजन गराउँदै धर्म, संस्कार र सदाचारको सन्देश दिएका थिए।
उक्त दिन आयोजित भजन तथा सांगीतिक कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका अस्मिता डल्लाकोटी र भजन गायिका राधिका हमालको प्रस्तुतिले माहोल भक्तिमय बनाएको थियो। ज्येष्ठ नागरिकदेखि युवासम्मको सक्रिय सहभागिताले कोटिहोमको वातावरणलाई उत्सवमय बनाएको थियो।
महायज्ञको मूल उद्देश्य धार्मिक जागरण, संस्कार प्रवद्र्धन र मानव कल्याण रहेको आयोजकले बताएका छन्। महायज्ञका संकल्पकर्ता मूर्तिले श्रद्धा, समर्पण र भक्ति भावको माध्यमबाट कोटिहोम समाजमा आध्यात्मिक ऊर्जा फैलाउने केन्द्र बन्दै गएको बताए। उनले महायज्ञमार्फत वातावरणीय शुद्धता, मानसिक शान्ति र आत्मिक उन्नति प्राप्त हुने विश्वास व्यक्त गरे।
नेपालका प्रख्यात साधु–सन्तको प्रवचन र राष्ट्रिय कलाकारको प्रस्तुति निरन्तर जारी रहेको कोटिहोममा अबका दिनमा पनि विविध कार्यक्रमको आयोजना हुँदैछ। वैशाख २९ गते चौरासी पूजन कार्यक्रम अन्तर्गत सवा करोड पार्थिव शिवलिङ्ग निर्माण, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायणको श्रवण तथा घरको माटो ल्याई भूमि पूजन गर्ने अवसर प्रदान गरिनेछ। साथै, पितृ उद्धार, तुला दान, शुभ विवाह, रुद्राभिषेक, अति रुद्री लगायतका धार्मिक कर्ममा सहभागी हुने मौका पनि उपलब्ध गराइएको छ।
सात दिनसम्म प्रवचन दिन वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, त्यसपछि कथा वाचिका राधिका दासी, देवी चन्द्रकला सखी तथा चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह–निर्देशक युवक लामिछानेले जानकारी दिए। कोटिहोममा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक हवनमा सहभागी भएर वैदिक आहुति दिइरहेका छन्।
महायज्ञको अवसरमा राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा हुने उक्त प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने छन्। प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।
शनिबारको कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कोटिहोमले विश्व शान्तिको स्थापनाका लागि उदाहरणीय कार्य गरिरहेको भन्दै यसको महत्ता प्रशंसा गरे। उनले कलियुगमा यस्ता यज्ञ दुर्लभ हुने हुँदा कोटिहोमले दिएको सन्देश महत्वपूर्ण रहेको बताए।
उनले भने, “म अतिथि हैन, दर्शनार्थी भएर आएको हुँ। पोखरामा यति ठूलो महायज्ञ सम्पन्न गरिनु अद्भुत छ। यो महायज्ञ सबैले सकरात्मक ऊर्जा लिएर फर्कने अवसर हो।”
कोटिहोम यही जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।































