पोखरा, २९ वैशाख। कांग्रेस सांसद राजेन्द्र बजगाईंले १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना लामो समयदेखि अध्ययनकै चरणमा अल्झिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा परियोजना समावेश नभएकोप्रति संसदमा चिन्ता व्यक्त गर्दै उनले बुढीगण्डकीको निर्माण प्रक्रिया अझै अनिश्चित हुनु गम्भीर विषय भएको जनाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक अध्ययन, अनुसन्धान र तयारी नपुगेको भन्दै आयोजना तत्काल सुरु हुन नसक्ने जानकारी दिएपछि सांसद बजगाईंले गोरखाका जनतामा निराशा थपिएको बताए। उनले ४४ अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको, बुढीगण्डकी करको रकम अन्य परियोजनामा रकमान्तर भइरहेको, र आयोजनालाई पटक–पटक प्राथमिकताबाट हटाइनुले राष्ट्रिय योजनामा दृढता र इमान्दारिताको अभाव देखिएको टिप्पणी गरे।

उनले बुढीगण्डकी कांग्रेस सत्तासाझेदार रहँदा चुनावी एजेन्डाको रूपमा अगाडि सारिएको स्मरण गराउँदै हाल प्राथमिकताबाट हटाइनुले गम्भीर प्रश्न उठाएको बताए। प्रधानमन्त्रीसँगै संसद् भवनमै प्रश्न गर्दा आफूले स्पष्ट जवाफ पाउन नसकेको भन्दै बजगाईंले परियोजना पुनः प्राथमिकतामा राख्न माग गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0