पोखरा, २९ वैशाख। यस वर्षको वसन्त ऋतुमा सगरमाथालगायतका विभिन्न हिमालहरू आरोहण गर्न अनुमति लिने पर्यटकमार्फत नेपाल सरकारले ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभागअन्तर्गत पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म जम्मा ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ राजस्व संकलन भएको हो।
सबैभन्दा धेरै राजस्व सगरमाथा आरोहणबाट संकलन भएको छ, जुन ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रहेको विभागले जनाएको छ। यसपटक वसन्त याममा सगरमाथा चढ्न ५७ देशका ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी ४५६ जना आरोहीले अनुमति लिएका छन्।
यो याममा सगरमाथासहित २६ वटा हिमाल चढ्न एक हजार १२७ जना (दुई सय ४० महिला र ८८७ पुरुष) आरोहीहरूले अनुमति लिएका छन्। अन्य हिमालहरूमा समेत उल्लेखनीय उपस्थिति रहेको छ। आमादब्लममा १० समूहका १०२ जना, ल्होत्सेमा ९ समूहका १०७ जना, मकालुमा ८ समूहका ७९ जना, कञ्चनजङ्घामा ७ समूहका ७५ जना, नुस्सेमा ६ समूहका ७६ जना र अन्नपूर्णमा ६ समूहका ६६ जना आरोही सहभागी छन्।
वसन्त यामलाई सगरमाथा लगायतका उच्च हिमालहरू आरोहण गर्न अनुकूल मौसम मानिन्छ। पर्यटन विभागले आरोहण अनुमति जारी भइरहेकाले आरोहीको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेको छ।


























