पोखरा, २९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र जनताको लामो संघर्षबाट इतिहासको पाना फर्काएको सामन्ती प्रथालाई पुनः ब्युँताउने प्रयास सफल नहुने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले शाहवंशीय शासनकाल र त्यसअघि भुरे–टाकुरे प्रणालीले मुलुकको समृद्धि र स्वतन्त्रतालाई निरन्तर बाधा पु¥याएको उल्लेख गरे।
उनले इतिहासको रछ्यानमा फालिएको सामन्ती शासनलाई पुनःस्थापित गर्न थालिएको प्रयास संविधानविरुद्धको अराजक गतिविधि भएको बताए। प्रधानमन्त्री ओलीका अनुसार हजार वर्षभन्दा बढी समय जनतालाई शोषण गर्दै राजाहरूले हुकुमी शासन चलाए र पछिल्ला अढाई सय वर्ष शाहवंशीय सामन्ती प्रणालीले विकासमा तगारो बन्यो।
२०६२/६३ को जनआन्दोलन र २०७२ मा जारी संविधानमार्फत मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र अंगालेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई नकार्ने कुनैपनि प्रयास अस्वीकार्य हुने बताए। उनले वर्तमान अस्थिरता र निराशाको वातावरणलाई भाडा बनाएर तिथिमिति तोकेर सिंहासन पुनःस्थापित गर्ने प्रयास गर्नु भ्रम फैलाउने राजनीतिक षड्यन्त्र भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले वंशवादी सोच, जातीय श्रेष्ठता र परम्परावादी शासन प्रणालीको बहिष्कार गर्दै जनताको अधिकारसहितको गणतान्त्रिक व्यवस्था नै मुलुकको एकमात्र विकल्प भएको दाबी गरे।




























