पोखरा, ३० वैशाख। लोकप्रिय कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को व्यवसायिक दूत तथा ब्रान्ड फेसको रूपमा नियुक्त भएका छन्। सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा राईलाई औपचारिक रूपमा तोक्माको ब्रान्ड एम्बासडर घोषणा गरिएको हो। सोही अवसरमा एपको औपचारिक सुरुवात समेत गरिएको थियो।

तोक्मा एपले राइड सेयरिङ, केयर गिभिङ, पर्यटन तथा सुरक्षासम्बन्धी सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार यो एप डिजिटल सेवा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यसहित सुरु गरिएको हो। विदेशी एपमार्फत पैसा बाहिर जाँदै गर्दा तोक्माले नेपालको पैसा देशमै रहने, युवालाई रोजगारी दिने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने रणनीति अघि सारेको छ।

ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त भएपछि राईले आफ्नो भूमिकालाई लिएर गर्व व्यक्त गर्दै तोक्माको लक्ष्य र भावनासँग आफू एकाकार भएको बताएका छन्। उनले सधैं आफ्ना समर्थकहरूलाई सत्यतथ्य जानकारी दिन र सही मञ्च प्रयोग गर्न प्रेरित गर्ने गरेको भन्दै यो यात्रामा संलग्न हुन पाएकोमा खुसी व्यक्त गरे।

तोक्माका सीईओ सागर आङदेम्बेले राईलाई ब्रान्ड फेस बनाउनुका पछाडि रहेको विश्वास स्पष्ट गर्दै तोक्मा हिमाली जीवनशैलीसँग जोडिएको नाम भएको बताए। तोक्मा भनेको पदयात्रामा प्रयोग हुने लठ्ठी हो जसले सन्तुलन र समर्थनको प्रतीक बोक्दछ।

घिसिङले एपले दैनिक जीवनका विविध आवश्यकतालाई सम्बोधन गर्न सक्ने उल्लेख गर्दै विशेष गरी पर्यटन, सेवा र रोजगारीका क्षेत्रमा यसले उल्लेखनीय योगदान दिने बताए। देशभित्रै सिर्जना हुने सम्भावनालाई डिजिटल प्रविधिमार्फत कार्यान्वयन गर्न सक्नु सकारात्मक पहल भएको उनले बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0