पोखरा, ३१ वैशाख। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको धनाढ्य मुलुक कतारबाट ४० करोड डलर मूल्य बराबरको विलासी बोइङ ७४७–८ जम्बो जेट ‘उपहार’ स्वरूप प्राप्त गर्ने चर्चा राजनीतिक र कानुनी बहसको केन्द्रबिन्दु बनेको छ। हवाइ महलको संज्ञा दिइएको उक्त जहाजलाई ट्रम्पले राष्ट्रपतिको औपचारिक विमान ‘एअर फोर्स वान’ का रूपमा प्रयोग गर्ने योजना सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा भ्रष्टाचार र पदको दुरुपयोगबारे नयाँ बहस सुरु भएको छ।
उक्त जहाज ट्रम्पको ‘राष्ट्रपतीय पुस्तकालय कोष’मा हस्तान्तरण गरिने भनिए पनि पछि ट्रम्पले व्यक्तिगत प्रयोग गर्न सक्ने सम्भावनालाई पूर्णरूपमा अस्वीकार नगरेका छैनन्। ट्रम्पले स्वयं उक्त प्रस्ताव अस्वीकार गर्नु मूर्खता हुने बताएका छन्। उनले आफू यस्तो महँगो उपहार अस्वीकार गर्ने व्यक्ति नभएको दाबी गर्दै उपहार स्वीकार्ने पक्षमा खुलेर बोलेका छन्।
तर, यो घटनाले अमेरिकी संविधानको पहिलो धाराको नवौँ बुँदाको उल्लङ्घन भएको भन्दै ‘सिटिजन्स फर इथिक्स एण्ड रेस्पोन्सिबिलिटी इन वाशिङ्टन’ नामक संस्थाले अदालतमा मुद्दा दायर गरेको छ। उक्त बुँदाले कंग्रेसको अनुमति विना कुनै पनि विदेशी मुलुकबाट उपहार स्वीकार गर्न रोक लगाएको स्पष्ट उल्लेख छ। कतारी अधिकारीले भने ट्रम्पलाई जहाज दिने विषय असत्य भएको बताएका छन्।
यस प्रकरणमा ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीभित्र पनि आलोचना बढेको छ। कतारले हमासलाई समर्थन गर्ने बताउँदै सिनेटर रिक स्कटले जहाज असुरक्षित रहेको जनाएका छन्। अर्का रिपब्लिकन सिनेटर जस हलीले भने यस्तो विमान अमेरिकामै निर्माण हुनुपर्ने धारणा राखेका छन्।
ट्रम्पले राष्ट्रपति हुँदा आफ्नै व्यापारिक स्वार्थलाई अगाडि राखेको, क्रिप्टोकरेन्सीदेखि सामाजिक सञ्जालसम्म व्यक्तिगत लाभ उठाएको आरोपहरू पहिले पनि उठेका थिए। पछिल्ला विभिन्न सर्वेक्षणहरूमा अमेरिकी जनताले ट्रम्पलाई भ्रष्ट नेताको रूपमा हेर्ने संकेत दिएका छन्। यो प्रकरणले न केवल विपक्षी डेमोक्र्याटहरूबीच, तर रिपब्लिकन समर्थकमाझ पनि ट्रम्पको छवि झनै धुमिल पार्ने देखिन्छ।



































