पोखरा, ३१ वैशाख। पोखराको सदाशिव सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको अवसरमा राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा आयोजना हुने यो प्रतियोगिता कक्षा ८ देखि १२ सम्मका विद्यार्थी लक्षित रहनेछ।
प्रतियोगिता संयोजक डा. तुलसी प्रभास खनालका अनुसार कक्षा १२ को परीक्षा र अभिभावकहरूको सुझावका कारण प्रतियोगिता मिति सरेको हो। इच्छुक विद्यार्थीले जेठ १० गतेभित्र अनिवार्यरूपमा नाम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा एसइई तथा कक्षा ११ को परीक्षा दिइसकेका विद्यार्थीले पनि सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा देशभरका विद्यालयबाट अनगिन्ती विद्यार्थी सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
७ मिनेट समयावधिको प्रतियोगितामा प्रस्तुत विचार सकारात्मक सन्देशमूलक हुनुपर्ने आयोजकले स्पष्ट पारेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार १ सय ५१, दोस्रोलाई ४१ हजार १ सय ४१, तेस्रोलाई ३१ हजार १ सय ३१ तथा सान्त्वना पुरस्कारस्वरूप २१ हजार १ सय २१ रुपैयाँसहित विविध सम्मान प्रदान गरिनेछ। मूल्याङ्कनमा ख्यातिप्राप्त व्यक्तित्वको संलग्नता रहनेछ भने कार्यक्रमलाई आकर्षक बनाउन प्रख्यात सार्वजनिक वक्ताहरूका विशेष प्रवचन र मोटिभेसन सेसनसमेत समावेश गरिनेछ।
यो प्रतियोगिता केवल धर्म र संस्कृतिसँग सीमित नरही शिक्षा र प्रतिभा प्रवर्द्धनमा केन्द्रित छ। कास्की बाहिरबाट आउने विद्यार्थीका लागि खानेबस्ने र यात्रा खर्चको व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएका छन्।
महायज्ञमा विभिन्न दिनमा ख्यातिप्राप्त कलाकारहरूको सहभागीता रहँदै आएको छ। हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, गायिका एलिना चौहान, लोकदोहोरी गायक राजु ढकाल, भजन गायक रमेश सापकोटा, हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’देखि महानायक राजेश हमालसम्मका कलाकारहरूले आ-आफ्ना प्रस्तुति दिइसकेका वा दिने कार्यक्रम तय भइसकेको छ।
महायज्ञका संकल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका अनुसार आगामी वर्षको अन्त्यतिर पोखरामा पुनः महायज्ञ आयोजना गरिनेछ, जसमा देशभरका १ हजारभन्दा बढी धार्मिक संस्थाको सहभागिता रहनेछ। महायज्ञपश्चात मानस सेवा फाउन्डेसनले प्रदेश र जिल्ला समिति गठन गर्ने योजनासमेत रहेको छ।
विभिन्न कथा प्रवचन, चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, वेद–पुराण पाठ, तुला दान, शुभविवाह, रुद्राभिषेक, दीप प्रज्वलन जस्ता धार्मिक कार्यका साथै सामाजिक कार्यक्रम जस्तै रक्तदान र भजन प्रतियोगिता पनि महायज्ञमा समावेश छन्। कोटिहोमको आयोजनाले धार्मिक, सांस्कृतिक र शैक्षिक रूपान्तरणमा सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।































