पोखरा, २ जेठ। गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लामा एकैदिन दुई नयाँ शाखा विस्तार गर्दै आफ्नो सेवा दायरा थप फराकिलो बनाएको छ। बुधबार बैंकले बिरुवा गाउँपालिका स्थित १२५ औं र अर्जुनचौपारी गाउँपालिका स्थित १२६ औं शाखा कार्यालयको उद्घाटन गर्दै नयाँ शाखाबाट औपचारिक सेवा सञ्चालनमा ल्याएको हो।
दुवै शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्राप्त खाँणले संयुक्त रूपमा गरेका थिए। कार्यकारी निर्देशक पौडेलले भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रममा बोल्दै निर्देशक पौडेलले नयाँ शाखा स्थापनाले वित्तीय पहुँच वृद्धि गर्दै स्थानीय स्तरमा पूँजी परिचालनमा सकारात्मक प्रभाव पार्ने बताए। उनले गरिमा विकास बैंकलाई सेवामूलक र उत्तरदायी संस्था बताउँदै ग्राहकहितलाई केन्द्रमा राखेर काम गर्न प्रेरित गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले शाखा विस्तारले सर्वसाधारण, व्यावसायिक फर्म, संघसंस्था लगायतलाई गुणस्तरीय सेवा प्रदान गर्दै क्षेत्रको आर्थिक उत्थानमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। अध्यक्ष खाँणले भने आधुनिक बैंकिङ सुविधासहित सञ्चालनमा आएका यी शाखाबाट स्थानीयबासीले सहज र सम्पूर्ण सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित हुने बताए।
राष्ट्रिय स्तरको यो विकास बैंकले २०६४ साल कार्तिक १८ गतेबाट व्यावसायिक सेवा प्रारम्भ गरेको थियो भने हालसम्म देशभर १२६ शाखा, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। पाँच अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले हालसम्म ८७ अर्ब निक्षेप संकलन र ७७ अर्ब कर्जा प्रवाह गरिसकेको छ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो बैंकको प्रारम्भिक मुख्यालय स्याङ्जाको वालिङमा रहेको थियो। सेवा विस्तारसँगै बैंकले ग्रामीण भेगका नागरिकहरूलाई समेत समावेशी वित्तीय सेवाको पहुँचमा ल्याउने लक्ष्य लिएको छ।





























