पोखरा, ३ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ दिनप्रतिदिन भक्तजनको अपार उपस्थिति र सन्तहरूको आगमनले उल्लासमय बन्दै गएको छ। आज शनिबार सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती महाराज भारतबाट पोखरा आइपुग्ने भएका छन्। प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार उनीहरू जेठ ३ देखि ५ गतेसम्म कोटिहोममा रहने छन् र प्रवचनमार्फत आध्यात्मिक ज्ञान प्रदान गर्नेछन्।

महायज्ञका संकल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले जेठ १ गतेदेखि सुरु भएको ज्ञान महायज्ञमा सयौं सन्त, कथा व्यास र राष्ट्रिय कलाकारको सहभागिता भइसकेको जनाएका छन्। शनिबार मात्र देशभरबाट ५ सयभन्दा बढी बसमार्फत करिब एक लाख भक्तजन कोटिहोममा आउने अनुमान गरिएको छ। यो आयोजनाले गण्डकी प्रदेशको धार्मिक र सांस्कृतिक गरिमा झनै उचो बनाएको छ।

यसैबीच, आगामी दिनहरूमा विविध सांस्कृतिक प्रस्तुति र धार्मिक अनुष्ठानहरू सञ्चालन हुँदैछन्। आइतबार नवलपुरबाट थारु समुदायको लाठी नाच, झुमरा, झाँकीसहितको सांस्कृतिक झाँकी प्रस्तुत हुनेछ भने जेठ १० गते दरौँ सिरुवारिबाट थाली नृत्यसहित जातीय झाँकी प्रस्तुत गरिनेछ। साथै, जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता पनि हुने जनाइएको छ।

कोटिहोममा वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले हाल कथा प्रवचन गरिरहेका छन् भने भजन गायक, हास्य कलाकारदेखि महानायक राजेश हमालसम्मको उपस्थितिले महायज्ञमा विविधता थपिएको छ। राष्ट्रिय भजन प्रतियोगिता, रक्तदान, चौरासी पूजन, सवा करोड पार्थिव शिवलिङ्ग निर्माण, २१ कोटि दीप प्रज्वलन, तुला दान, शुभ विवाह, रुद्राभिषेक, अति रुद्री लगायतका धार्मिक अनुष्ठानहरू पनि निरन्तर सञ्चालनमा छन्।

मानव सेवा फाउन्डेसनका अनुसार ४ सयभन्दा बढी ब्राह्मणद्वारा हवन सामग्री आहुति दिने कार्य भइरहेको छ भने हवन कुण्ड परिक्रमाको व्यवस्था समेत गरिएको छ। कोटिहोमको पावनभूमिमा आगामी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध वाचिकाहरू राधिका दासी, चन्द्रकला सखी र चैतन्यकृष्ण महाराजको प्रवचन हुने कार्यक्रम छ।

पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा भइरहेको कोटिहोम आगामी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। धार्मिक, सांस्कृतिक र आध्यात्मिक गतिविधिले भरिएको यो आयोजनाले पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यको रूपमा चिनाउने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0