पोखरा, ३ जेठ। अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर आयोजना हुँदै आएको अन्नपूर्ण म्याराथनको पाँचौँ संस्करण यही २० जेठमा हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक कास्कीको आयोजनामा म्याराथन हुन लागेको हो। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले म्याराथनका विस्तृत जानकारी सार्वजनिक गरेका छन्।
४२.१९५ किलोमिटर लामो म्याराथन समुद्री सतहदेखि चार हजार १३० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरबाट सुरु भई मेश्रम बराह मावि, घान्द्रुकको खेलमैदानमा समापन हुनेछ। मार्गमा माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, बम्बो, छोम्रोङ, कोम्रोङडाँडा, किम्रोङखोला जस्ता चर्चित पर्यटकीय स्थल समेटिएका छन्। यसले पदमार्गमा पूर्वाधार विकास, स्थानीय पर्यटन प्रवर्द्धन तथा खेल पर्यटन विस्तारमा सहयोग पुग्ने आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले नेतृत्व गरेको टोलीले अन्नपूर्ण प्रथम (८,०९१ मिटर) को सफल आरोहण गरेकै दिनको सम्झनामा म्याराथन आयोजना गरिँदै आएको छ। यस वर्ष अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव भएकाले यो संस्करणलाई हीरक उत्सवका रूपमा मनाउने तयारी गरिएको छ।
म्याराथन महिला र पुरुष दुवै विधामा सञ्चालन हुनेछ। दुबै विधामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख र तेस्रोलाई ७५ हजार रुपैयाँका साथमा पदक र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै अन्नपूर्ण गाउँपालिका र गण्डकी प्रदेशका प्रथम धावक, तीनपटक सम्म निरन्तर महिला सहभागिता, विदेशी धावक (महिला तथा पुरुष) र ७५औँ स्थानमा पुग्ने धावकलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
सहभागिताका लागि सात हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने १५ जेठसम्म नाम दर्ता गरिसक्नुपर्नेछ। १८ जेठमा धावकहरूले अन्नपूर्ण आधार शिविरमा आयोजकसँग सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ। हालसम्म १० विदेशी सहित ६० जना धावकले नाम दर्ता गराइसकेका छन्।
म्याराथनका सम्पूर्ण प्राविधिक पक्ष अल्टिमेट एडभेन्चर नेपालले सम्हाल्नेछ। म्याराथन सफल रूपमा सम्पन्न गर्न झण्डै ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

































