पोखरा, ४ जेठ। युक्रेन युद्धले निम्त्याएको विनाश र मानवीय क्षतिलाई रोक्ने उद्देश्यसहित अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुराकानी गर्ने घोषणा गरेका छन्। सोमबार हुने भनिएको यस वार्ताले तीन वर्षदेखिको युद्ध अन्त्यका लागि सम्भावित नयाँ मोड ल्याउने अनुमान गरिएको छ।
शनिबार ट्रुथ सोसलमार्फत ट्रम्पले हरेक हप्ता पाँच हजारभन्दा बढी युक्रेनी तथा रुसी सैनिकको ज्यान जाने रक्तपात रोकिनु आवश्यक रहेको र व्यापार तथा कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्न वार्ता आवश्यक रहेको बताएका छन्। हालै टर्कीको इस्तानबुलमा युक्रेन र रुसका प्रतिनिधिहरूबीच भएको वार्ताले कैदी आदानप्रदानको सम्झौता गराएपछि ट्रम्प–पुटिन वार्ताको तयारी अघि बढाइएको हो। यो तीन वर्षमा भएको पहिलो प्रत्यक्ष वार्ता हो, जसमा दुबै देशले ‘निम्न तह’ को प्रतिनिधिमण्डल पठाएका थिए।
ट्रम्पले बारम्बार आफू र पुटिन सँगै नभएसम्म ठोस शान्ति प्रक्रिया अघि नबढ्ने धारणा सार्वजनिक गर्दै आएका छन्। उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा नेटो सदस्य मुलुकहरूसँग पनि कुरा गर्ने तयारी गरिरहेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि ट्रम्प–पुटिन वार्ताको तयारी पुष्टि गरेका छन्।
यता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सर्गेइ लाभरोभसँग फोन संवाद गर्दै ट्रम्पको सन्देश र अमेरिका शान्तिप्रति प्रतिबद्ध रहेको जानकारी दिएका छन्। रुबियोले युद्धविरामका लागि ट्रम्पको आह्वानलाई समर्थन गर्दै यो अवसर गुमाउन नहुने बताएका छन्।
ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा पुटिन शान्तिको बाधक होइनन् भन्ने धारणा दिँदै यो युद्ध एक हप्तामै सकिन सक्ने बताएका छन्। उनले शान्तिको प्रमुख सर्तको रूपमा आफू र पुटिनबीच प्रत्यक्ष संवादलाई मानेका छन्।

































