पोखरा, ४ जेठ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै जनता केन्द्रित विकासमा अगाडि बढ्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार राजधानीमा आयोजित प्रजातान्त्रिक विचार समाजको ३० औं वार्षिकोत्सव, २७ औं साधारणसभा तथा ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि एकमात्र विकल्प भएको जिकिर गरे।
सभापति देउवाले वर्तमान शासन प्रणालीभित्र देखिएका कमजोरीहरूलाई समन्वय, सहकार्य र सुधारको माध्यमबाट सम्बोधन गर्दै देशको समावेशी विकासमा सबै दलहरूको भूमिका आवश्यक रहेको धारणा राखे। उनले कुनै दलको बहुमत नआएकाले साझा सरकार निर्माणको अभ्यासमा संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु स्वाभाविक भएको बताए।
उनले नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विकासको गति तीव्र भएको स्मरण गर्दै लोकतान्त्रिक शासन प्रणालीले पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए। सडक, स्वास्थ्य, सिँचाइ, खानेपानी जस्ता क्षेत्रमा देखिएको प्रगति लोकतन्त्रको उपलब्धि भएको उनले प्रष्ट पारे।
विश्व तापमान वृद्धिले हिमाल र जलस्रोतमा पारेको प्रभाव न्यूनीकरणका लागि सरकारले सगरमाथा संवाद आयोजना गरेको जानकारी पनि देउवाले दिएका छन्। उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै दीगो विकासमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे।




























