पोखरा, ५ जेठ। नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको छ। पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूको एक समूहले महाधिवेशनको तयारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको भूमिकामाथि प्रश्न उठाएका छन्।
छलफलमा संलग्न वरिष्ठ नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक तयारी सन्तोषजनक नरहेको ठहर गर्दै नेतृत्वको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरूका अनुसार महाधिवेशनको वर्ष भइसके पनि अधिकांश जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलाग्नुले पार्टीको आन्तरिक व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ।
गोप्यरूपमा सानेपास्थित गोपालमान श्रेष्ठको छोराको निवासमा भएको छलफलमा सहभागी नेताहरूले पार्टीका महामन्त्रीहरू आवश्यक जिम्मेवारीबाट विमुख भएको गुनासो गरेका छन्। कोही सगरमाथा आरोहणमा व्यस्त हुनु र कोही गाउँपालिका सम्मेलनतिर ध्यान केन्द्रित गर्नुले सदस्यता नवीकरणको कार्य समयमा पूरा नहुने चिन्ता व्यक्त गरिएको हो।
नेता सिटौलाका अनुसार यो भेटघाट विगतका नियमित छलफलहरूको निरन्तरता मात्र हो। तर यसपटक छलफल गम्भीर र व्यापक भएको बताइएको छ। नेताहरूले पार्टी केन्द्रित नभई व्यक्ति केन्द्रित शैली अपनाइएकाले कांग्रेसको सुदृढीकरणमा अवरोध भइरहेको निष्कर्ष निकालेका छन्।
छलफलमा सत्ता गठबन्धनको अलमल, सरकारको डेलिभरी क्षमताको अभाव, भ्रातृसंस्थाहरूको अस्तव्यस्तता लगायतका विषयमा पनि आलोचना भएको जनाइएको छ। नेताहरूले कांग्रेस सरकारमा हुँदाहुँदै पनि जनताले अपेक्षाअनुसार सेवा नपाएको उल्लेख गरेका छन्।
पूर्वउपसभापति निधिले महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको विषयमा पार्टी नेतृत्वले चासो नदेखाएकोमा खेद व्यक्त गर्दै सभापति र पदाधिकारीको ध्यानाकर्षण गराउने बताए।
यसअघि पनि यी नेताहरू सभापति देउवालाई भावी नेतृत्वका विषयमा स्पष्ट धारणा दिन दबाब दिँदै आएका थिए। पछिल्लो समय देउवाका विश्वासपात्र डा. प्रकाशशरण महतसमेत यो समूहमा थपिएका छन् भने पूर्णबहादुर खड्कालाई पनि मिसाउने तयारी भइरहेको छ।
छलफलको निष्कर्षमा नेताहरूले स्वस्थ प्रतिस्पर्धा र एकतामूलक पार्टी निर्माणका लागि महाधिवेशनको पूर्वतयारीलाई गति दिनुपर्ने आवश्यकता औंल्याएका छन्।




























