पोखरा, ७ जेठ। राष्ट्रिय युवा संघ नेपालले पोखरामा आयोजना गर्न लागेको दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ। नेकपा एमालेसँग सम्बद्ध युवा संगठन भएकाले महाधिवेशनमा पार्टीकै ध्यान केन्द्रीत भएको छ। यो संगठनका संस्थापक अध्यक्ष अहिले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको हुँदा यस महाधिवेशनले पार्टीभित्र समेत महत्व राखेको देखिन्छ।
महाधिवेशनले ९ सदस्यीय पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी गरिएको छ। एमालेको नयाँ निर्णयअनुसार संगठनको संरचना सघन बनाउँदै सानो संख्यामा नेतृत्व चयन गरिनेछ। यद्यपि हालको १७ जना पदाधिकारी र ३३३ सदस्यीय केन्द्रीय कमिटीलाई घटाएर नयाँ संरचना लागू गर्न केही चुनौती पनि देखिएको छ।
४० वर्ष उमेर हद कटौतीका कारण उपाध्यक्षहरू अमित लामा, पुष्प श्रेष्ठ, रमेश तिवारी, सीता सुवेदी र अनिता कन्दङ्गवा नेतृत्वबाट बाहिरिएसँगै नयाँ अनुहारहरू अगाडि आउने सम्भावना बनेको छ। यसले नेतृत्व चयनलाई केही सहज बनाउने अपेक्षा गरिए पनि अध्यक्षसहित अन्य पदहरूमा दाबेदारी बढ्दै गएको छ।
हालका अध्यक्ष क्षीजित थेबे, उपाध्यक्ष कृष्णहरी केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरीले अध्यक्ष पदका लागि दाबी गरिरहेका छन्। यिनै पंक्तिमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको भए पनि प्रतिस्पर्धा चर्किदै गएको छ। ‘सर्वसम्मतिले नेतृत्व चयन होस् भन्ने चाहना भए पनि अहिले जसरी दाबी गरिएको छ, त्यो स्वाभाविक हो,’ युवा संघका इन्चार्ज राजीव पहारीले बताए।
महासचिव पदमा हालका उपमहासचिव राजन थापा मुख्य दावेदारका रूपमा देखिएका छन् भने कोषाध्यक्ष राकेश राईले पनि उपाध्यक्ष वा महासचिव पदको आकांक्षा राखेका छन्। सचिव पदमा पनि आकांक्षीहरूको संख्या उल्लेख्य छ। सचिवालय सदस्यहरू विनोद राई, मदन गिरी, मदन भण्डारी, मोहम मिजमलगायतको नाम सचिव पदका सम्भावित उम्मेदवारका रूपमा चर्चा भइरहेको छ।
यद्यपि महाधिवेशन सर्वसम्मतिको प्रयासका साथ सम्पन्न हुने आयोजकको भनाइ छ, नेतृत्व चयनमा आन्तरिक प्रतिस्पर्धा, शक्ति सन्तुलन र संगठनको भावी रणनीतिलाई ध्यान दिँदै निर्णय लिइने देखिन्छ। एमाले पंक्तिको चासो र ध्यानलाई सम्बोधन गर्दै पोखरामा हुने यो महाधिवेशन पार्टीको युवा रणनीतिमा निर्णायक मोड सावित हुनसक्छ।




























