पोखरा, ७ जेठ। स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८औं विश्व स्वास्थ्य सम्मेलनमा नेपालले आफ्नो तर्फबाट सार्वजनिक स्वास्थ्य प्रणाली, उपलब्धि र चुनौतीका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। सम्मेलनको अवसरमा नेपालले चार मुख्य बुँदामार्फत विश्व स्वास्थ्य संगठनसमक्ष आफ्नो सन्देश प्रष्ट पारेको छ।

नेपालले नागरिकको स्वास्थ्य पहुँच विस्तारका लागि गरिरहेका प्रयत्न र त्यसमा देखिएको भौगोलिक जटिलता, स्रोतको अभाव, तथा संस्थागत सुधारसम्बन्धी चुनौती उल्लेख गरेको छ। मातृशिशु मृत्युदर न्यूनीकरण, पोलियो उन्मुलन तथा सूर्तीजन्य पदार्थ नियन्त्रणमार्फत क्यान्सरविरुद्धको प्रयासमा नेपालले हासिल गरेको सफलतालाई उदाहरणीय उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

साथै, वृद्ध जनसंख्याको वृद्धि, घट्दो जन्मदर, आन्तरिक बसाइँसराइका प्रभाव र मानसिक तथा नसर्ने रोगको चुनौतीसँग जुझ्न स्वास्थ्य पूर्वाधार विस्तारमा भइरहेको लगानीमा विश्वस्तरको सहकार्य अपरिहार्य भएको धारणा व्यक्त गरिएको छ।

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरप्रति समेत नेपालको चिन्ता व्यक्त गरिएको छ। सगरमाथा सम्वादमार्फत यस विषयमा नेपालले उठाएको आवाज उल्लेख गर्दै महामारीको सामना तथा समाधान खोजीका क्रममा विश्व स्वास्थ्य संगठनको भूमिका थप सशक्त हुनुपर्ने कुरा नेपालले जोडदार ढंगले प्रस्तुत गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0