पोखरा, ९ जेठ। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अम्मरसिंह चौरमा गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन सत्रमा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य भानुभक्त ढकाललगायत नेताहरूको उपस्थिति रहने जनाइएको छ।

देशभरबाट करिब दुई हजार प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन पोखरा पुगेका छन्। महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, चार सचिवसहित ९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। संघका वर्तमान अध्यक्ष क्षितिज थेबेका अनुसार अधिवेशन संगठनको आगामी कार्यनीति, रणनीति र कार्यभार तय गर्ने महत्वपूर्ण मोडको रूपमा अघि बढ्नेछ।

अध्यक्ष पदका लागि पाँचजनाले दाबी प्रस्तुत गरेका छन्। अध्यक्ष थेबे स्वयं पुनः उम्मेदवार छन् भने उपाध्यक्ष प्रकाश गौतम, कृष्णहरि केसी, महाराज गुरुङ र महासचिव सुमन पुरीले पनि नेतृत्वको आकांक्षा व्यक्त गरेका छन्। यद्यपि एमाले अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपछि आकांक्षीहरूबीच मतभेद देखिएको छ। पार्टी नेतृत्वले सर्वसम्मतिको प्रयास गरिरहेको अवस्थामा पदप्राप्तिको आकांक्षा राख्ने केही प्रतिनिधि निराश देखिएका छन्।

महाधिवेशनले युवा संघको भावी दिशानिर्देशन तय गर्नुका साथै संगठनलाई थप सशक्त बनाउने कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0