पोखरा, ९ जेठ। मुगुको सोरु गाउँपालिका वडा नं. १० मा सञ्चालित सडक निर्माण योजनामा २३ लाख रुपैयाँभन्दा बढी हिनामिना भएको पाइएको छ। ४४ लाख बराबरको सडक योजना कार्यान्वयनमा नदेखिएको कामलाई देखाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा सहिदगेटदेखि कोटसम्म सडक निर्माणका लागि स्वीकृत योजना कार्यान्वयन गर्दा योजनाको उपभोक्ता समिति गठन नहुँदै सम्झौता गरिएको थियो। अख्तियारका अनुसार स्वीकृत लागतअनुसार काम नगरी कम मात्रामा निर्माण कार्य गरी बढी देखाएर भुक्तानी गरिएको छ। नापी किताबमा ६६२३.८ घनमिटर संरचना निर्माण भएको देखाइएको भए पनि स्थलगत रूपमा नापजाँच गर्दा केवल ३११३.०३ घनमिटर मात्र कार्य सम्पन्न भएको पुष्टि भएको छ।
यसरी ३५१०.७५ घनमिटर बढी कार्य देखाएर प्राविधिक प्रतिवेदन तयार पारिएको र त्यसैको आधारमा २३ लाख २२ हजार ८३२ रुपैयाँको अनियमित भुक्तानी गरिएको आरोप पत्रमा उल्लेख छ। योजना अनुगमन समितिले पनि आवश्यक विवरणबिना प्रतिवेदन दिएको, प्राविधिक मूल्यांकनमा लापरवाही गरिएको, र सोही आधारमा उपभोक्ता समितिलाई अनियमित भुक्तानी गरिएको अख्तियारले जनाएको छ।
आयोगले उक्त कार्यमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सब-इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुखलगायत उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा अनुगमन समितिका संयोजक र सदस्यहरू गरी ११ जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचारको मुद्दा चलाएको हो।




























