पोखरा, ९ जेठ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार जनहितभन्दा टाढा रहँदै भ्रष्टाचारको संरक्षणमा लिप्त भएको आरोप लगाएका छन्। माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी जनजागरण अभियान अन्तर्गत बागलुङको गलकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै श्रेष्ठले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारले जनताको काममा भन्दा पनि सत्ता संरक्षण र भ्रष्टाचारको प्रवर्द्धनमा ध्यान दिएको बताए।

श्रेष्ठले सरकारको चरित्र निरंकुश बन्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले नै सरकारको उद्देश्य प्रस्टिएको बताए। उनका अनुसार ओलीले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले सरकार गठनको कारण कानुनी दण्डबाट बच्नका लागि भएको पुष्टि गर्दछ। यस्तो सरकारले न त राष्ट्रियता रक्षा गर्न सक्छ, न सुशासन कायम गर्न सक्ने हैसियत राख्दछ भन्ने श्रेष्ठको भनाइ थियो।

उनले वर्तमान सरकारको आलोचना गर्दै कांग्रेस र एमालेले जनताको विश्वास गुमाइरहेको र यथास्थितिवादी प्रवृत्तिले प्रतिगमनलाई उक्साएको बताए। त्यसैका विरुद्धमा माओवादी केन्द्रले जनतामाझ अभियान थालेको भन्दै उनले आमनागरिकलाई खबरदारीसमेत गरे। श्रेष्ठले माओवादी केन्द्रले आफ्ना कमजोरीहरूलाई समीक्षा गर्दै आत्मालोचनाका साथ परिवर्तनको यात्रा अघि बढाएको स्पष्ट पारे।

श्रेष्ठले पार्टीभित्र व्यक्तिवाद र गुटबन्दी अन्त्य गरी समावेशी नेतृत्वमार्फत दलित, महिला, मधेशी र श्रमिक वर्गलाई उचित प्रतिनिधित्व गराउने पार्टीको प्रतिबद्धता दोहोर्‍याए। उनले सहिद परिवार, बेपत्ता परिवार र जनप्रतिनिधिसँग सल्लाह लिँदै पार्टी पुनःगठनको बाटोमा अघि बढिरहेको जानकारी दिए।

श्रेष्ठले वैज्ञानिक समाजवाद स्थापनालाई आफ्नो रणनीतिक लक्ष्यको रूपमा अघि सारेका छन्। उनले पार्टी अझै पनि वैज्ञानिक क्रान्तिको दिशामा अडिग रहेको उल्लेख गरे। जनसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, दिनानाथ शर्मा, कृष्णबहादुर महरा र अग्नि सापकोटालगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0