पोखरा, ९ जेठ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपालमै पहिलोपटक ग्रीन बण्ड जारी गर्न लागेको छ। ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ नाम दिइएको यो बण्ड जेठ १८ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो। सात वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर तोकिएको छ, जुन प्रत्येक आर्थिक वर्षको मध्य र अन्त्यमा कर कट्टा गरी भुक्तानी गरिनेछ।

निफ्राले कूल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्दैछ। तीमध्ये ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरका २० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइनेछ। यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइनेछ भने बाँकी १९ लाख कित्ता सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन्।

ऋणपत्रको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। आवेदन मेरो शेयर अनलाइन प्लेटफर्मसहित सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ। इक्रा नेपालले ऋणपत्रको मूल्यांकन गर्दै कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम मात्रामा सुरक्षित वित्तीय दायित्व जनाउँछ।

निफ्राले यो बण्डबाट जुटाएको रकम शौर्य ऊर्जा उत्पादन तथा २५ मेगावाट क्षमतासम्मका रन अफ रिभर जलविद्युत् परियोजनामा लगानी गर्ने जनाएको छ। कम्पनीले तयार पारेको ग्रीन बण्ड फ्रेमवर्कअन्तर्गत तोकिएका क्षेत्रहरूमा लगानी सम्भव नभएमा अल्पकालीन तरल सम्पत्तिमा मात्र रकम प्रयोग गरिने स्पष्ट पारेको छ।

यो बण्डको निष्कासनले नेपालमा ऋणपत्र बजारको विविधीकरण गर्दै दीर्घकालीन हरित परियोजनाहरूको वित्तीय पहुँच वृद्धि गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0