पोखरा, जेठ १२। पोखराको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा देशभरबाट जनप्रतिनिधिहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। महायज्ञमा सहभागितामार्फत शुभकामना मात्र नभई आर्थिक सहयोग गर्ने क्रम पनि तीव्र बनेको छ।
महायज्ञ प्रचार-प्रसार संयोजक लेखराज ढकालका अनुसार, देशभरका जनप्रतिनिधि, सामाजिक अभियन्ता, संस्थाहरू तथा साधारण भक्तजनहरूले कोटिहोमको दर्शनसँगै विभिन्न शीर्षकमा सहयोग गर्ने क्रम बढाएका छन्। कतिपय जनप्रतिनिधिहरूले यस्तो धार्मिक, सामाजिक र मानवसेवामूलक अभियानलाई देशभर विस्तार गर्नुपर्ने सुझावसमेत दिएका छन्।
स्याङ्जाका पालिकाबाट अनाथबालबालिकाको लागि सहयोग
आइतबार स्याङ्जा जिल्लाका गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई, वालिङ उपप्रमुख कविता तिवारी, आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापा लगायत जनप्रतिनिधिहरूले कोटिहोममा उपस्थिति जनाए। गल्याङ नगरपालिका र वालिङ नगरपालिकाको तर्फबाट अनाथ बालबालिकाको अभिभावकत्व लिन क्रमशः १/१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरियो।
भट्टराईले मानव सेवा फाउन्डेसनद्वारा सञ्चालित अनाथबालबालिका र ज्येष्ठ नागरिकका लागि भइरहेको सेवा अभियानको प्रशंसा गर्दै यसले मानव जीवनलाई सार्थक बनाउने उल्लेख गरे। उपप्रमुख तिवारीले महायज्ञले नैतिक शिक्षा र धार्मिक चेतना बढाउने भएकाले यस्ता कार्यक्रम देशभर हुनुपर्ने बताइन्।
व्यापक जनसहभागिता, आर्थिक सहयोग र जग्गा दानसमेत
कोटिहोममा पं. सूर्यप्रसाद तिमिल्सिनाले २५,५५५ रुपैयाँ, दधिराम पाण्डेले १५,११५, कुमान सिंह गुरुङले १५,०००, एकता टोल नारी समूह लिला बरालले २५,५५५, गलेश्वर ज्येष्ठ नागरिक समूहले २५,४००, सन्तु देवकोबाट ७,०२०, कमला बरालबाट ३ टिप समिधा, तालबराही मन्दिर गुठी संस्थाले २५,५५५, इन्द्रेणी आमा समूहले १५,५५५ र स्याङ्जा दरबारचोक आमा समूहले ११,५०० रुपैयाँ सहयोग प्रदान गरेका छन्।
महायज्ञको प्रभावबाट प्रेरित भई अन्नपूर्ण गाउँपालिकास्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्।
कथा वाचन, प्रवचन र भजनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिता
महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचक देवी प्रतिभाले २५ जनाको टोलीसहित कथा वाचन गरिरहेकी छन्। जेठ १६ गतेसम्म उनको दिव्य प्रवचन कार्यक्रम हुनेछ। त्यसपछि जेठ १४ देखि २२ गतेसम्म राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ।
गायक थानेश्वर गौतमको भजन प्रस्तुतिमा सहभागीहरू नाचेका थिए भने पोखराका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकले कोटिहोमको दर्शन गरेका छन्।
राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सुरु
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ। डा. तुलसी प्रभास खनालका अनुसार देशभरबाट ९० प्रतियोगी सहभागी छन्। आइतबार १७ जनाले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेताले क्रमशः रु ५१,१५१, ४१,१४१, ३१,१३१ र २१,१२१ पुरस्कार प्राप्त गर्ने छन्।
प्रतियोगितामा ओजस्वी आचार्य, प्रेन्सा रेग्मी, मनीषा पौडेललगायत प्रतिभावान वक्ताहरू अतिथिका रूपमा सहभागी छन्।
धार्मिक कर्म र सामाजिक अभियान समावेश
मानव सेवा फाउन्डेसनद्वारा आयोजित कोटिहोममा शताधिक धार्मिक अनुष्ठानहरू जस्तै तुलादान, ग्रहशान्ति, व्रतउद्यापन, हनुमान चालीसा पाठ, पितृ उद्धार, विवाह तथा कुम्भ विवाह, भूमिदान, गोदान लगायतका कर्म गर्न सकिन्छ।
४ सयभन्दा बढी ब्राह्मणले दैनिक आहुति दिइरहेका छन्। चौरासी पूजा, १०८ श्रीमद्भागवत पाठ, पार्थिव शिवलिंग निर्माण लगायतका विशेष धार्मिक कर्महरू समेत भइरहेको छ।
कोटिहोम जेठ २६ गतेसम्म सञ्चालनमा रहने
कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। यस अभियानले मानव सेवा, धार्मिक चेतना, सामाजिक सहभागिता र संस्कारको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।































