पोखरा, १३ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको आध्यात्मिक रौनक थप उत्कर्षमा पुग्ने भएको छ। नेपालकी प्रख्यात आध्यात्मिक व्यक्तित्व, श्रीमद् देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले यस महायज्ञमा आफ्नो ओजस्वी वाणीद्वारा कथावाचन गर्नुहुने भएको छ। उहाँ जेठ १६ गते पोखरा आइपुग्ने र जेठ १७ गतेदेखि जेठ २६ गतेसम्म लगातार दश दिनसम्म श्रीमद् देवीभागवत कथा प्रस्तुत गर्नुहुने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो।

मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले यस ऐतिहासिक सय कुण्डयुक्त यज्ञमा कथावाचन गर्ने अवसर पाउनुलाई आफ्नो सौभाग्य ठानेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “यस्तो ऐतिहासिक कोटिहोम आफ्नो पुस्ताले देखेको यो पहिलो पटक हुनुपर्दछ। यस्तो दिव्य स्थानमा कथावाचन गर्न म आउँदैछु। कथावाचनका साथै त्यहाँ हुने करोडौं हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनुहोला। म पनि आउँदैछु, तपाईंहरू पनि आउनुहोस्, कोटिहोममा भेटौंला।” यसअघि जेठ १४ गते उहाँको आगमनको कार्यक्रम तय भए तापनि समय व्यस्तताका कारण १६ गते आइपुग्ने निश्चित भएको हो।

हाल महायज्ञमा जेठ १० गतेदेखि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले कथावाचन गरिरहनुभएको छ। उहाँले जेठ १६ गतेसम्म कथा प्रस्तुत गर्नुहुनेछ र उहाँको बिदाइसँगै भागवत मञ्जरी राधिका दासीले कथावाचनको जिम्मेवारी सम्हाल्नुहुनेछ। महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले देवी प्रतिभा र राधिका दासीजस्ता प्रखर व्यक्तित्वहरूको आगमन र सहभागिताले आफूलाई थप ऊर्जा मिलेको बताउनुभएको छ। उहाँले देवी प्रतिभालाई बहिनी र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै उहाँहरूको अमृतमय प्रवचन श्रवण गर्ने अवसरलाई सदुपयोग गर्न सम्पूर्ण भक्तजनमा आग्रह गर्नुभएको छ।

कोटिहोम परिसरमा देश विदेशबाट पाल्नुभएका साधु, सन्त, महन्तहरूले पनि नियमित रूपमा श्रुतिमधुर प्रवचन तथा सन्देश प्रदान गरिरहनुभएको छ। आइतबारदेखि सुरु भएको ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि महायज्ञमा विशेष रौनक थपेको छ। प्रतियोगितामा देशभरका ९० जना विद्यार्थी प्रतियोगीहरूले उत्साहजनक सहभागिता जनाएका छन्, जसले गर्दा कास्की तथा अन्य जिल्लाका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति दिन प्रतिदिन बढ्दो छ। प्रतियोगिताका संयोजक, पब्लिक स्पिकर तथा शिक्षाविद् डा. तुलसी प्रभास खनालका अनुसार बुधबार डा. तारप्रसाद गिरी र डा. खनाल स्वयंले विद्यार्थीहरूलाई निःशुल्क विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

यो विराट महायज्ञ मानव सेवा फाउन्डेसनद्वारा ललितपुरमा निर्माणाधीन मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ आयोजना गरिएको हो। महायज्ञमा अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजजस्ता विशिष्ट व्यक्तित्वहरूले यसअघि नै कथावाचन गरिसक्नुभएको छ। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता पनि निरन्तर चलिरहेका छन्।

चार सयभन्दा बढी ब्राह्मणहरूद्वारा दैनिक हवन तथा आहुति अर्पण भइरहेको यस पावन भूमिमा जौ, तिल, घिउजस्ता हवन सामग्री दान गर्ने र हवन कुण्डको परिक्रमा गर्ने व्यवस्था मिलाइएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले बताउनुभयो। उहाँका अनुसार, कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, विभिन्न व्रत उद्यापन, अर्क विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, चण्डी पाठ, रोग निवारण पाठ, गणेश सहस्रार्चन, २१ कोटि दीप प्रज्वलन लगायत दर्जनौं अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको कामनासहित सञ्चालन भइरहेका छन्। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्यजस्ता सांस्कृतिक प्रस्तुतिहरूले पनि भक्तजनलाई मन्त्रमुग्ध बनाइरहेका छन्। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसर र आसपासको क्षेत्रमा जारी यो महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0