पोखरा, ९ चैत्र। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलतालाई आत्मसात् गर्दै राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रबार नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विश्वकै सबैभन्दा बढी जनसंख्या भएका दुई ठूला छिमेकी राष्ट्रहरूबीच अवस्थित नेपालले सचेत भएर कूटनीतिक एवं राजनीतिक निर्णय लिनुपर्नेमा जोड दिए।

उनले भूराजनीतिक सन्तुलन बिग्रँदा नेपालको सार्वभौमिकता, अखण्डता, र स्वतन्त्रतामा गम्भीर असर पर्ने चेतावनी दिए। हाल मुलुकभित्र देखिएको राजनीतिक अस्थिरता र बाह्य शक्तिहरूको चासोप्रति सचेत रहन आग्रह गर्दै उनले राष्ट्रिय शक्तिहरूलाई कमजोर पार्ने गतिविधिहरूको पहिचान गरी एकताबद्ध हुनुपर्ने बताए।

राजावादी आन्दोलनतर्फ संकेत गर्दै पोखरेलले वर्तमान अवस्थामा कुनै शक्ति राष्ट्रिय शक्तिहरूलाई छिन्नभिन्न पार्ने खेलमा लागेको उल्लेख गरे। एमालेले केवल आफ्नो पार्टीको नीति र उद्देश्य मात्र नभई समग्र राष्ट्रको समृद्धिका लागि सबैलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा राख्दै उनले एकताबद्ध भएर राष्ट्रको भविष्य सुनिश्चित गर्न आह्वान गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0