पोखरा, ११ वैशाख। सत्तारूढ नेकपा (एमाले)ले लोकतन्त्र दिवसको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ कार्यक्रम आयोजना गर्दै युवामाझ शक्ति प्रदर्शन गरेको छ। एमालेले एक लाख युवालाई सहभागी गराउने दाबी गरेको उक्त कार्यक्रमको केन्द्रबिन्दु युवाहरू नै बनेका थिए। कार्यक्रममा युवाहरूले देशको भविष्य, गणतन्त्रको रक्षा र समृद्ध नेपालको निर्माणमा आफ्नो सोच र धारणा स्पष्ट रूपमा व्यक्त गरे।

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पनि कार्यक्रममा सम्बोधन गर्दै अब देशको नेतृत्व युवाहरूले गर्नुपर्ने धारणा राखे। युवा वक्ताहरूले गणतन्त्रमाथिको प्रहारलाई परास्त गर्न एकताबद्ध हुन आह्वान गरे। चिकित्साशास्त्र, शिक्षा, कृषि, पर्यटन, नीति निर्माणदेखि राष्ट्रिय राजनीतिसम्मका विषयमा युवाहरूले खुलेर आफ्ना धारणा राखे।

महाराजगञ्जका डा. आनन्द सिंहले नेपालमा चिकित्सा क्षेत्रमा भएको प्रगति र विदेशी विद्यार्थीको आकर्षणलाई गौरवको रूपमा प्रस्तुत गरे। उनले उपचार पद्धति, जटिल शल्यक्रिया र स्वास्थ्य विमाका क्षेत्रीय सफलतालाई आत्मसाथ गर्नुपर्ने बताए। विशाल पुनमगरले पाठ्यक्रमलाई व्यवहारिक, जीवन उपयोगी र स्थानीय उत्पादनमा आधारित बनाउने प्रस्ताव राखे। शिलाजित, यार्सागुम्बा, अदुवा, मार्सी जस्ता कर्णालीका विशेषता पाठ्यक्रममा समेट्नुपर्ने उनले बताए।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्रमाथि भइरहेको अन्तर्राष्ट्रिय षड्यन्त्रलाई युवाले परास्त गर्नुपर्ने धारणा राखिन्। पृथ्वीनारायण क्याम्पसका स्ववियु अध्यक्ष विष्णु पोखरेलले प्राविधिक शिक्षा र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए। उनले शिक्षा र स्वास्थ्य निःशुल्क गरिनुपर्ने र युवाले बाँझो जमिनमा काम गर्न तयार हुनुपर्ने बताए।

कोटेश्वरकी स्ववियु उम्मेदवार शर्मिला भण्डारीले युवाले राजनीति बुझ्न र परिवर्तनमा सक्रिय भूमिका खेल्नुपर्ने भनाइ राखिन्। काठमाडौंकी उपमेयर सुनिता डंगोलले इमान्दारिता र निरन्तरताका आधारमा आफूले प्रशंसा पाएको र राष्ट्र निर्माणमा अवरोध गरिरहेकाहरूको कारण चौतर्फी आक्रमण भइरहेको दाबी गरिन्। उनले जथाभावी आक्रमण गर्ने तत्वलाई राष्ट्रविरोधी भन्दै यस्ता प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा राखिन्।

कार्यक्रममार्फत एमालेले देश निर्माणको जिम्मेवारी अब युवाहरूले सम्हाल्नुपर्ने सन्देश दिएको छ। एमाले नेतृत्वले युवाको क्षमता र सक्रियतामार्फत राष्ट्रलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0