घोराही, पुस १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला र संस्कृतिमा धनी भएको बताएका छन्। घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सवको उद्घाटन गर्दै उनले लुम्बिनी सांस्कृतिक विविधतायुक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री आचार्यले प्रदेशका हरेक निकायमा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेश सरकारले यसका लागि आवश्यक कानुन निर्माण गरिसकेको जानकारी दिँदै उनले अब ऐन निर्माण गरेर छिट्टै कार्यान्वयनमा ल्याउने बताए।

थारु कार्यकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायलाई आर्थिक रूपमा सम्पन्न गराउन प्रदेश सरकारले कला संस्कृतिलाई आयआर्जनसँग जोड्ने पहल गरिरहेको बताए। उनले थारु समुदायको कला र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने प्रदेश सरकारको योजना रहेको बताए।

लुम्बिनी प्रदेशका जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। उनीहरूले लुम्बिनी प्रदेश सांस्कृतिक विविधताले भरिएको क्षेत्र रहेको भन्दै कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताए।

महोत्सव सुरु हुनुअघि विभिन्न कला, संस्कृति र झाँकीसहित घोराही बजार परिक्रमा गरिएको थियो। थारु समुदायको मौलिक कला, संस्कृतिले भरिएको माघीलाई उनीहरूको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ। महोत्सवमा थारु समुदायका मौलिक कला, संस्कृति, गीत, नाच र खानेकुराहरूको प्रदर्शनी गरिएको छ। महोत्सवले थारु संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0