पोखरा, २९ पुस। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ। गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सभाको उद्घाटन गर्दै हाइकिङ अभियानले संस्थागत रूप लिएर पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले पुराना पदमार्गलाई पर्यटनसँग जोडेर गाउँले जीवनशैली प्रस्तुत गर्न क्लबले योगदान दिने बताए।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले हाइकिङ मार्फत पर्यटकको बसाइ लम्ब्याउन सकिने बताउँदै क्लबले गाइडबुक प्रकाशन गरेमा थप सहयोग पुग्ने धारणा राखे। पोखरा महानगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले महानगरको पूर्ण सहयोग रहने आश्वासन दिए।
सभामा प्रारम्भिक दिनहरूदेखि नेतृत्व प्रदान गर्ने प्रविन तुलाचन, वरिष्ठ सहभागी यमबहादुर रानाभाट, सुशिला रानाभाट, र महिला सरस्वती अधिकारीलाई सम्मान गरियो। लोकदोहोरी गायक नेत्र खड्काको सांगीतिक प्रस्तुति सभाको आकर्षण रह्यो।
सभामा सचिव मधु अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दा कोषाध्यक्ष टिका आचार्य सुवेदीले आर्थिक प्रतिवेदन पेश गरे। सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो। क्लबले आफ्नो ५४औँ हाइकिङ ड्यामसाइड हुँदै झण्डा पार्कसम्म सम्पन्न गरेको छ।




























