पोखरा, ५ माघ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आगामी माघ २२ देखि देशभरका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउने तयारी गरेको जानकारी दिएका छन्। काठमाडौँको टोखामा आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा शिविरको उद्घाटन गर्दै उनले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउने सरकारको योजना रहेको बताए।
स्वास्थ्यमन्त्री पौडेलले महिलामा क्यान्सर रोकथाम गर्न पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराए। साथै, सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने योजना अघि बढाएको पनि उल्लेख गरे।
स्वास्थ्य बिमाको रकमलाई एक लाखबाट पाँच लाख पुर्याउने तयारी भइरहेको जानकारी दिँदै उनले नागरिकको योगदानमा आधारित कोष विस्तार गरी स्वास्थ्य सेवा थप प्रभावकारी बनाइने बताए। मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार भइरहे पनि अझै धेरै गर्न बाँकी रहेकोमा जोड दिए।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनकल्याण सामाजिक केन्द्रले समाज रूपान्तरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै उक्त केन्द्रलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रमका अन्य वक्ताहरूले पनि सामाजिक केन्द्रको कार्यको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा यसको योगदान महत्त्वपूर्ण रहेको बताए।
जनकल्याण सामाजिक केन्द्रले हालसम्म ३५१ पटक रक्तदान, स्वास्थ्य शिविर र आँखा शिविरजस्ता कार्यक्रम आयोजना गरिसकेको छ। अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजित शिविरमा दुई सयभन्दा बढी व्यक्तिले सेवा प्राप्त गरेका छन्।




























