पोखरा, १३ माघ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी पाँचौँ टाइगर कप भलिबल प्रतियोगितामा आज चार खेल हुने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको प्रतियोगितामा महिलातर्फ एक खेल र पुरुषतर्फ तीन खेल हुने आयोजकले जनाएको छ।
महिलातर्फको पहिलो खेल आयोजक टिम र त्रिभुवन आर्मी क्लबबीच बिहान ९ बजे हुनेछ। शनिबार खेल हुन नसकेपछि आइतबारका लागि सारिएको यो खेल दर्शकहरूको चासोको केन्द्रबिन्दु बनेको छ।
पुरुषतर्फको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ भने तेस्रो खेल शसस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको नियमअनुसार, खेलहरूपछि लिग चरण सञ्चालन हुनेछ। जित्ने टोली र हार्ने टोलीका लागि छुट्टाछुट्टै लिग खेलाइनेछ। जित्ने टोलीहरूको समूहबाट शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो स्थानको टोलीले एलिमिनेटर खेल्नेछ। हार्ने टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा स्थान बनाउनेछ।
खेल हेर्न चाहने दर्शकका लागि इसेवामार्फत अनलाइन टिकट खरिदको सुविधा उपलब्ध गराइएको छ। आयोजकले यस सुविधा प्रयोग गरी दर्शकको उपस्थिति अझ बढ्ने अपेक्षा गरेको छ।





























