पोखरा, १५ माघ । पोखरा महानगरपालिकाले कानुन बमोजिम पर्यटन शुल्क उठाउने निर्णय गरेको छ। यस अन्तर्गत माघे संक्रान्तिदेखि लगाइएको ताला सोमबार बिहान खोलेको छ। पोखरा महानगरपालिकाको आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले पातले छाँगोमा भएको अवरोध हटाउने निर्णय गरेको हो। यसले पर्यटन स्थलका सञ्चालनलाई नियमित बनाएको छ।
नगर प्रमुख धनराज आचार्यको आह्वानमा आयोजित बैठकले छाँगोमा पर्यटन शुल्क उठाउने जिम्मेवारी पोखरा महानगरपालिकाले नै लिनुपर्ने निर्णय गरेको हो। साथै, महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु फछ्र्योटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि बैठकले निर्णय गरेको छ। बैठकको निर्णय अनुसार सोमबार बिहान महानगरले सिल राखेको ताला खोलेपछि विद्यार्थी र स्थानीयले पनि आफ्नो ताला खोल्ने प्रक्रिया अघि बढाए।
पोखरा महानगरका प्रवक्ता मोतीराज तिम्सिनाले जानकारी दिए अनुसार, पोखरा महानगरको आर्थिक ऐनअनुसार पर्यटन शुल्क तोकिएको छ। विद्यार्थीका लागि ३० रुपैयाँ, नेपाली नागरिकका लागि ५० रुपैयाँ र विदेशी नागरिकका लागि १ सय ५० रुपैयाँ शुल्क तोकिएको छ। यसै अनुसार अब डेभिज फल (पातले छाँगो) अवलोकन गर्न यसै शुल्कमा शुल्क लिइनेछ। यसअघि पुस मसान्तसम्म विद्यार्थीले २०, अन्य नेपालीले ४०, सार्क राष्ट्रका नागरिकले ८० र अन्य राष्ट्रका नागरिकले १ सय रुपैयाँ प्रवेश शुल्क तिरेका थिए।
सञ्चालनलाई निरन्तरता दिने कुरा पनि बैठकले पुष्टि गरेको छ। छाँगोमा कार्यरत कर्मचारीहरू पुरानै रहनेछन्। प्रवक्ता तिम्सिनाले भने, “पहिलेदेखि काम गर्दै आएका कर्मचारीहरूलाई निरन्तरता दिने निर्णय गरिएको छ।” उनले थपे, “अब सरसफाइका ३ जना, सुरक्षा गार्ड २ र टिकट काउन्टरमा १ गरी ५/६ जना कर्मचारी काम गर्नेछन्।”
विद्यालय र पोखरा महानगर बीच भएको सम्झौतामा पुर्नविचार गर्ने सहमति पनि बनाइएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य कमलकान्त उपाध्यायले यस बारेमा जानकारी दिँदै भने, “महानगरसँगको सहमतिमा पर्यटन शुल्क उठाइरहेका विषयमा सम्झौता पूरा पालना गर्ने र ४० वर्षे ठेक्कामा पुर्नविचार गरिने छ।”
पोखरा महानगरले पर्यटकीय क्षेत्रको सुदृढीकरणका लागि सेती क्यानोन प्रालिसँग शिशापुल र अन्य पूर्वाधार निर्माणको सन्दर्भमा स्थानीयसँग छलफल गर्ने निर्णय पनि गरेको छ। मेयर धनराज आचार्यले यस बारेमा भनें, “सेती क्यानोन प्रालिको उपस्थितिमा स्थानीयको समेत छलफलमार्फत परियोजना अघि बढाइनेछ।”




























