पोखरा, १ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहको ऐन, कानुन वा नियम संविधानभन्दा माथि हुन नसक्ने बताएका छन्। उनले नागरिकको संवैधानिक अधिकार कुण्ठित गर्ने खालका नियम स्वाभाविक रूपमा खारेज हुनुपर्ने बताए।
महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले पछिल्लो समय काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि ज्यादति गरेको आरोप लगाए। उनले व्यवसायीहरूको भवन तथा संरचनामाथि डोजर प्रयोग गरिनु, नगर प्रहरी परिचालन गरी व्यवसायीहरूलाई कुटपिट गरिनुजस्ता कार्य निन्दनीय भएको बताए।
अध्यक्ष ठाकुरले महानगर प्रमुख बालेन शाहको कदम अदालतको आदेश विपरीत रहेको भन्दै यसले कानुनी राज्यको सिद्धान्तलाई कमजोर बनाउने धारणा राखे। उनले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरले गरिरहेको ज्यादती रोक्न आवश्यक पहल गर्न आग्रह गरे।
उनले यदि महानगरको रवैया यथावत् रहेमा लोसपाले अधिकारको आन्दोलन गर्ने चेतावनीसमेत दिए। संविधानसम्मत रूपमा मात्रै कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले जनताको हकअधिकार कुण्ठित गर्ने कुनै पनि निर्णय स्वीकार्य नहुने स्पष्ट पारे।





























