पोखरा, ८ फागुन। पाटन उच्च अदालतले प्रचारप्रसार रोक्न दिएको अन्तरिम आदेशको भोलिपल्ट फिल्म लाज शरणम् को टिजर र एक गीत युट्युबबाट हटाइएको छ। अहिले ती भिडियोलाई प्राइभेट बनाइएको देखिन्छ। टिजरसहित हेर्दा हेर्दैमा बोलको गीत पनि हटाइएको छ। युट्युबमा गएर लिङ्क खोल्दा यो भिडियोलाई प्राइभेट तुल्याइएको छ भन्ने सन्देश देखिन्छ।

पूर्वमन्त्री अफ्ताव आलमको रिटको सुनुवाइ गर्दै पाटन उच्च अदालतले मंगलबार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फिल्मको प्रचारप्रसार रोक्न अन्तरिम आदेश दिएको थियो। आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्दोजुल्दो पात्रको प्रयोग गरिएको भन्दै आपत्ति जनाउँदै रिट दायर गरेका थिए। उनले बिना अनुमति आफ्नो अनुहारसँग मेल खाने शैली, पहिरन, हाउभाउ, जीउडाल र लवज फिल्ममा प्रयोग गरिएको भन्दै अदालतमा गुनासो गरेका थिए।

अदालतको आदेशपछि सेन्सर बोर्डले अनुमति नदिएसम्म फिल्मको प्रचारप्रसार रोकिएको छ। सेन्सर बोर्डले कहिले अनुमति दिने भन्ने यकिन भइसकेको छैन। लाज शरणम् को निर्माण टिमले चाँडै सेन्सर प्रक्रियामा जाने बताएको छ तर, स्पष्ट मिति तय भइसकेको छैन।

यस आदेशका कारण बुधबारका लागि तय गरिएको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम पनि रोकिएको छ। फिल्म आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारीमा रहे पनि प्रचार अभियानमा रोक लागेपछि रिलिज मिति यथावत रहने वा सारिने भन्नेबारे अझै अन्योल छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0