पोखरा, २० फागुन। नेपाली कांग्रेसको १५औं महाधिवेशनको अन्योलबीच सभापतिका दाबेदार महामन्त्री गगन थापाले देश दौडाहालाई तीव्र बनाएका छन्। संस्थापनभित्र सभापति शेरबहादुर देउवाको विरासत बोक्न दाबेदारी पेश भइरहँदा इतर पक्षका प्रभावशाली नेता थापा भने आफ्नो कार्यक्रम राखेर देश दौडाहामा निस्किएका हुन्। थापाले १४औं महाधिवेशनमा इतर समूहका नेता शेखर कोइराला टीमबाट महामन्त्री जितेका थिए। पछिल्लो चुनावपछि भएको संसदीय दलको निर्वाचनमा थापा उठे पनि पराजित भएका थिए।

पार्टी संगठन चलाउने कार्यकारी महामन्त्रीसमेत रहेका थापाले एक महिनामा कम्तीमा २२ वटा कार्यक्रममा सहभागिता जनाएका छन्। उनको कार्यक्रम काठमाडौंभन्दा बाहिरी जिल्लामा बढी केन्द्रित देखिएका छन्। थापाले १५औं महाधिवेशनमा सभापतिमा उठ्नेगरी तयारी अगाडि बढाएका छन्। यस क्रममा उनले ठूला कार्यक्रम मात्रै रोजेका छैनन्, गाउँ कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्ने, माओवादी प्रभावित क्षेत्रमा माहोल देखाउनेदेखि भलिबल कार्यक्रम उद्घाटन समेतमा सहभागिता जनाएका छन्। थापा स–साना कार्यक्रम राखेर देश दौडाहा पुगिरहेका छन्। जिल्लामा कार्यक्रम लिएर औपचारिक पार्टी कार्यक्रमबीच स्थानीय कार्यकर्तासँग भेटघाट र छलफल गर्ने, मन्दिर मेला, चियापान, श्रद्धाञ्जलीसभाजस्ता कार्यक्रममा सहभागी हुने गगनको शैली देखिन्छ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी कार्यकारी महामन्त्रीका रूपमा नियमित प्रक्रियाका काम भइरहेको बताउँछन्। महामन्त्रीको हैसियतमा जानु नियमित प्रक्रिया भएको र भ्रातृ, शुभेच्छुक संस्था महाधिवेशनको मुखमा रहेको उनको भनाइ छ। कार्यक्रम नराख्दा झन् आलोचना हुने गरेको शिवाकोटीको भनाइ छ। २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले समातेको जस्तो लय यसपटक महामन्त्रीले समाउनुभएको छ, जसको चौतर्फी प्रशंसा भएको छ।

पछिल्लो एक महिनामा शृंखलाबद्ध देश दौडाहा गरेका थापाको यो महिनाभर व्यस्त कार्यतालिका छ। थापा आज क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रमका लागि भैरहवा जाँदैछन्, जहाँ महामन्त्रीद्वय र विज्ञहरूले राजनीतिक, सांगठनिक सदस्यता सम्बन्धमा प्रशिक्षण दिँदैछन्। गगनसँगै नेता कोइरालाले पनि फेरि महाधिवेशनको तयारी थालेका छन्। पछिल्लोसमय पार्टी संस्थापनले शेखरलाई औपचारिक कार्यक्रममा निम्ता गर्न छाडेको छ। तर, पार्टीको कार्यकारी भूमिकामा नभए पनि कोइरालाले केही न केही कार्यक्रम राखेर महाधिवेशनकेन्द्रित गतिविधि अगाडि बढाएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0