पोखरा, ४ चैत्र। अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल पार्कमा नेपाली समुदायले होली पर्व भव्य रूपमा मनाएको छ। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)को आयोजनामा सम्पन्न ‘होली हंगामा’ कार्यक्रममा सयौँ नेपाली सहभागी भएका थिए। उनीहरूले एकआपसमा रङ लगाउँदै शुभकामना आदानप्रदान गर्दै होलीको उल्लास मनाए।

कार्यक्रमको उद्घाटन ग्रानभिल क्षेत्रकी सांसद जुलिया फिनले गरेकी थिइन्। उनले बहुसांस्कृतिक समाजको सौन्दर्य विविध धर्म, जाति तथा कला–संस्कृतिको सम्मानमा रहेको बताउँदै होली अस्ट्रेलियामा पनि लोकप्रिय हुँदै गएको उल्लेख गरिन्।

एनआरएन ओसेनियाका उपसंयोजक अरुण ठाकुरले विदेशमा रहे पनि नेपालीहरूले होलीको महत्त्व बिर्सिन नहुने बताए। उनले होली पर्वले नेपाली समुदायबीच आत्मीयता र सद्भाव बढाउने धारणा राखे। एन्टाका अध्यक्ष रन्जीत शाहले नेपाली कला–संस्कृतिको जगेर्नाका लागि संस्था लामो समयदेखि क्रियाशील रहेको बताए।

होली हंगामा सांस्कृतिक प्रस्तुतीकरणले झनै रङ्गिन बनेको थियो। नेपाली गायक सुदिन पोखरेलको गीतमा सहभागीहरू झुमेका थिए भने निर्देशक सोभित बस्नेतले आफ्नो नयाँ चलचित्र ‘पीआर’बारे जानकारी गराउँदै कलाकारलाई स्टेजमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा आरीफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिसा गौतमलगायतका कलाकारले विशेष प्रस्तुति दिएका थिए। साथै, नेपाली खाना र मधेस झल्काउने सांस्कृतिक प्रस्तुतीकरणले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0