मंसिर-११, पोखरा। नागरिकका कानूनी व्यवहारिक कठिनाईहरू समाधान गर्न लक्षित “समुदायमा मुख्य न्यायाधिवक्ता” कार्यक्रम मंगलबार पोखराको भमरकोट पार्टी प्यालेस, रामबजारमा सम्पन्न भएको छ। कार्यक्रमले न्यायप्राप्तिका चुनौतीहरूप्रति जनचेतना जगाउँदै निशुल्क कानूनी सेवा र समाधानका उपायबारे जानकारी प्रदान गरेको छ।
कार्यक्रमका अध्यक्ष क्याप्टेन रविन्द्र पुनले कानूनी सेवाहरूलाई सबै समुदायको पहुँचमा पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। मुख्य न्यायाधिवक्ता श्रीमान चिरञ्जीवी शर्मा पौडेलले आर्थिक रूपमा कमजोर, विपन्न र अन्यायमा परेका व्यक्तिहरूलाई निशुल्क कानूनी सहयोग उपलब्ध गराउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नागरिकता, राष्ट्रिय परिचयपत्र, पेन्सन आदि मा कास्की जिल्ला भन्दा बाहिरका हरुका लागी कास्कीमा कसरी सेवा लिने र नागरिकहरूको कानूनी कठिनाइ सम्बोधन गर्न राज्यले अपनाउनुपर्ने थप उपायहरूबारे चर्चा गरे। विशिष्ट अतिथि जिल्ला अदालत कास्कीका श्रेस्तादार राजन खनालले न्यायिक प्रक्रियामा पारदर्शिता र सहजीकरण आवश्यक रहेको औंल्याए।
जिल्ला प्रहरी कार्यालय कास्कीका श्यामबाबु ओलियाले कानूनी चेतना अभावका कारण हुने समस्याहरू समाधान गर्न सामुदायिक सहभागिता महत्वपूर्ण हुने बताए। उपत्यका नगर विकास समितिका प्रकाश सुवेदी र पुन समाज नेपालका पूर्णबहादुर पुनले समाजका विभिन्न पक्षमा कानूनी शिक्षा र सेवाको प्रभावकारितामाथि चर्चा गरे।
कार्यक्रममा कानूनी व्यवसायी, शिक्षक, मानव अधिकारकर्मी, पत्रकार, समाजसेवी, महिला अधिकारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।





























