काठमाडौं, १२ मंसिर – काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ। आज बिहान पौने ६ बजे मापन गरिएको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ, जुन सोमबारकै जस्तै हो। मंगलबार भने न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको थियो। मौसमविदहरूले आगामी दिनमा तापक्रम घट्ने क्रम जारी रहने जनाएका छन्। जल तथा मौसम विज्ञान विभागले चिसोबाट जोगिन आवश्यक पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार जाडो क्रमशः बढ्दै छ। तर विगतको औसत तापक्रमसँग तुलना गर्दा यो सामान्य हो। स्थिर वायुमण्डलका कारण तराई मधेश र पहाडी भेगमा हुस्सु लाग्ने गरेको छ। काठमाडौं उपत्यकासहित केही स्थानमा आज बिहान पनि हुस्सु लागेको थियो। यद्यपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण सामान्य रहेको छ। अहिले विमानस्थलको भिजिबिलिटी ४ हजार ५०० मिटर छ।

नेपालभरको तापक्रममा जुम्ला सबैभन्दा चिसो रहेको छ, जहाँ न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस मापन भएको छ। जोमसोममा शून्य, जिरीमा ४.७, डडेलधुरामा ७.३, ओखलढुंगामा ७.६, र ताप्लेजुङमा ८.२ डिग्री सेल्सियस रहेको छ।

पश्चिमी वायुको सामान्य प्रभावले काठमाडौंमा वर्षाको सम्भावना नरहे पनि कोशी, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको अधिकारीले जनाएका छन्। हिमाली भेगमा आज हिमपातको सम्भावना छ। पहाडी र हिमाली क्षेत्रको मौसम भोलि र पर्सि झन् सुधार हुने अनुमान गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0