पोखरा, २१ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ प्रकारको क्रान्ति आवश्यक भएको बताएका छन्। गणतन्त्र सेनानी कोषद्वारा आयोजित गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले संविधान लेखनको क्रममा फरक मत राखिएका मुद्दाहरूलाई अघि बढाउन र गणतन्त्रलाई जनताको व्यवस्थामा रुपान्तरण गर्न नयाँ संघर्ष आवश्यक रहेको बताए। उनले भने, “हामीले जनयुद्धको उत्कर्षमा नै भनेका थियौँ, देश गणतन्त्रमा पुग्छ तर प्रतिक्रियावादीहरूले यसलाई आफ्नो अनुकूल बनाउन खोज्नेछन्। त्यसबेला जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेर उल्लेख गरेका थियौं, त्यो बिन्दु अब नजिक आइपुगेको छ।”
उनका अनुसार अबको क्रान्ति पहिलेजस्तो सशस्त्र नभई जनतासँगै रहेर भ्रष्टाचार र बेथितिविरुद्ध जनआन्दोलनमार्फत अघि बढाइनेछ। उनले लाखौं जनता सडकमा उतार्दै संविधान निर्माणका क्रममा छाडिएका फरक मतका मुद्दाहरूलाई समेट्दै जनताको गणतन्त्रलाई पूर्णता दिने तर्क गरे।
कार्यक्रममा प्रचण्डले जनयुद्धको महत्व र त्यसले ल्याएको परिवर्तनको चर्चा गर्दै भने, “नेपालमा दस वर्षे जनयुद्ध नभएको भए गणतन्त्र स्थापनाको कल्पना पनि गर्न सकिंदैनथ्यो। नेपाली इतिहासमा यति धेरै सङ्गठित र व्यवस्थित युद्ध कहिल्यै भएको थिएन।”
उनले नयाँ क्रान्तिको सुरुवात स्थानीय तहको उपनिर्वाचनमा माओवादीको विजयबाट भइसकेको भन्दै पार्टीको एजेन्डा र पहिचानसहित अघि बढ्ने धारणा राखे। साथै, विभाजित माओवादीलाई एकताबद्ध गर्दै क्रान्तिका लागि पार्टीलाई सशक्त बनाउने योजना सार्वजनिक गरे।
कार्यक्रममा प्रचण्डले गणतन्त्र सेनानी सम्मान कार्यक्रमको प्रशंसा गर्दै इतिहासको सम्मानका लागि नयाँ संस्कारको थालनी गर्न आयोजकलाई धन्यवाद दिए। उनले यस्तो कार्यक्रम राज्यकै जिम्मेवारीमा राखेर आयोजना गर्नुपर्ने सुझाव पनि दिए।
खबरहबका अनुसार प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध जनतामा जागरण ल्याउन नयाँ आन्दोलनको तयारी सुरु भइसकेको जानकारी दिएका छन्।




























