पोखरा, कात्तिक २९ । नेपाली कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले परराष्ट्रमन्त्री डा. आरजु राणाको स्वागतका लागि फूलमालासहित उपस्थित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउन लागेकी राणालाई स्वागत गर्न कांग्रेस डडेलधुराले औपचारिक तयारी गरेको छ।

कांग्रेस डडेलधुराले जारी गरेको विज्ञप्तिमा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका, वडा, टोल कार्यसमिति, भातृ तथा शुभेच्छुक संघसंस्था, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, उद्योगी–व्यापारी तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण व्यक्तिहरूलाई शुक्रवार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा उपस्थित हुन अनुरोध गरिएको छ। सभापति साउदले सबैलाई स्वागत समारोहमा सहभागिताका लागि हार्दिक आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री राणाका सल्लाहकार एकराज पाठकका अनुसार मन्त्री बनेपछि पहिलो पटक जिल्ला आउन लागेकाले औपचारिक स्वागतका लागि सर्कुलर जारी गरिएको हो। उनले भने, “मन्त्री भएपछि उहाँ पहिलो पटक जिल्ला जान लाग्नुभएको हो। त्यसैले जिल्लाको पार्टीले सूचना जारी गरेको हो।”

मन्त्री राणा शुक्रवार आफ्नो गृह जिल्ला डडेलधुरा पुग्ने कार्यक्रम रहेको छ। सोही अवसरमा डडेलधुरा कांग्रेसले पार्टीका नेता कार्यकर्ताहरूसहित आम नागरिकलाई पनि स्वागतका लागि फूलमालासहित उपस्थिति जनाउन आग्रह गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0