पोखरा, २ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारी गरिरहेको दाबी गरेका छन्। बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले सरकारका गतिविधिहरू यही उद्देश्यमा केन्द्रित रहेको बताएका हुन्।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया ०८७ सालमा मात्रै हुने बताएका कारण सत्तारुढ कांग्रेसभित्र नै असन्तुष्टि बढेको बताए। “संविधान संशोधन अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपीजीले भन्नुभयो। कांग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ,” प्रचण्डले भने। उनले सरकारले मध्यावधिमा जाने योजना अघि बढाइरहेको र त्यसका लागि विभिन्न अध्यादेश जारी गरिएको उल्लेख गरे।
बैठकमा प्रचण्डले आफूहरूले सरकारका गतिविधिहरू नजिकबाट नियालिरहेको र अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको स्पष्ट पारे। “सरकारको भूमिका हामीले हेरिरहेका छौं। अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बेला भइसकेको छ,” उनले बैठकमा भने।
उनले मध्यावधि निर्वाचनको तयारीस्वरूप संसद् बैठक समयमै नबोलाएर अध्यादेश जारी गर्ने रणनीति अपनाइएको बताउँदै यसबारे थप व्याख्या भने गरेनन्।
































