पोखरा, १५ माघ । यही माघ १८ गते सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ। यस क्रममा सभामुख देवराज घिमिरेको सक्रियता बढ्दै गएको छ। हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले आज कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा बस्दैछ। बैठक दिउँसो १ बजे आयोजना हुने सभामुखको कार्यालयले जनाएको छ।
यसअघि सभामुख घिमिरेले विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छुट्टाछुट्टै संवाद गरेका छन्। उनका प्रेस संयोजक शेखर अधिकारीका अनुसार सभामुखले हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग पनि छलफल गरेका थिए। सत्तापक्ष र प्रतिपक्षका बीचमा समन्वय गर्न आइतबार छुट्टाछुट्टै बैठकसमेत आयोजना गरिएको थियो।
सङ्घीय संसद्को हिउँदे अधिवेशनलाई सन्तुलित र कार्यक्षम बनाउन सभामुखले विभिन्न पहल अघि बढाएका छन्। यसले संसद्को कार्यसूची व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ।




























