पोखरा, ६ फागुन। संघीय संसद्‌को पाँचौँ अधिवेशन सुरु भएयता प्रतिनिधि सभामा पटक–पटक विवाद उत्पन्न भइरहेको छ। सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर सांसदहरूले प्रश्न उठाइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सभामुख सचिवालयको खुला टकराव देखिएको छ। संसदीय मर्यादा, आकस्मिक समयको व्यवस्थापन र संसद्‌भित्रको छलफल प्रक्रिया सुधार गर्नुपर्ने माग संसद्मा प्रमुख मुद्दा बनेको छ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले आकस्मिक समय मागेकी थिइन्। तर, सभामुख घिमिरेले अनुमति नदिएपछि श्रेष्ठ बैठक बहिष्कार गरेर बाहिरिइन्। यसअघि माघ २८ गते पनि रास्वपा सांसद सोविता गौतमले आकस्मिक समय मागेकी थिइन्, तर सभामुखले उनको विषय आकस्मिक नभएको भन्दै अस्वीकार गरेका थिए।

सभामुख र सांसदहरूबीचको असन्तुष्टि नयाँ होइन। माघ १८ गतेको पहिलो बैठकमा नै रास्वपाका सांसदहरूले १५ मिनेटका लागि बैठक बहिष्कार गरेका थिए। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई निलम्बन गर्ने सभामुखको निर्णयप्रति असन्तुष्टि जनाउँदै रास्वपाले संसद्‌मा विरोध जनाएको थियो।

संसदीय अभ्यासको सैद्धान्तिक पक्षलाई हेर्दा आकस्मिक समय दिनु या नदिनु सभामुखको विवेकाधिकारमा पर्छ। तर, पछिल्ला घटनाक्रमहरूमा सभामुखको भूमिकाप्रति असन्तुष्टि बढ्दै गएको छ। आकस्मिक समय दिनुपर्ने विषयहरूलाई रोकिएको, केही सांसदहरूलाई प्राथमिकता दिइएको र दल विशेषका सांसदहरूलाई बोल्न अवसर दिइएको गुनासो सार्वजनिक रूपमा आएको छ।

सांसद श्रेष्ठले संसद्‌बाट बाहिरिएपछि सामाजिक सञ्जाल एक्स (ट्विटर) मा आफ्नो असन्तुष्टि व्यक्त गरिन्। उनले आकस्मिक विषय संसद्मा उठाउन नपाएको भन्दै सभामुखको भूमिकाप्रति प्रश्न उठाइन्। उनले एमाले सांसद सम्झना थपलियाले पाएको समयको तुलनामा आफूले संसद्मा उठाउन खोजेको विषयलाई बेवास्ता गरिएको बताइन्।

सभामुख सचिवालयले भने मंगलबार बिहानै ‘प्रेस नोट’ जारी गर्दै रास्वपा सांसद श्रेष्ठ र गौतमलाई समय दिन नसक्नुको स्पष्टिकरण दिएको छ। सचिवालयले संसदीय नियमावलीअनुसार नै आकस्मिक समय प्रदान गरिएको दाबी गर्दै सांसदहरूले सोसल मिडिया र मिडियामार्फत अनावश्यक दबाब सिर्जना गर्न खोजेको आरोप लगायो।

यसरी सभामुख र सांसदहरूबीचको बढ्दो तनावले संसदीय मर्यादामाथि प्रश्न उठाएको छ। संसदीय मामिलाका जानकारहरूका अनुसार संसद्को सञ्चालनमा सभामुख र सांसद दुवै पक्षले आफ्नो शैली परिवर्तन गर्न आवश्यक छ। कतिपयले सभामुख घिमिरे एमाले नेताजसरी प्रस्तुत भइरहेको आरोप लगाएका छन् भने रास्वपा सांसदहरूलाई ‘स्टन्टबाजी’ गर्दै संसदीय मर्यादालाई उपेक्षा गरेको आरोप पनि लागेको छ।

संसद्मा विवाद भइरहँदा मुख्य कार्यसूचीहरू प्रभावित भइरहेका छन्। कानुनविद्हरूका अनुसार संसद्को प्राथमिक उद्देश्य विधायन र नीति निर्माण भए पनि पछिल्लो समय संसदीय बहसहरू व्यक्तिगत आरोप–प्रत्यारोपमा केन्द्रित भएका छन्। संसदीय अभ्यासलाई सुदृढ गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नुपर्ने र सांसदहरूले संसदीय मर्यादालाई आत्मसात गर्नुपर्ने माग उठ्न थालेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0