पोखरा, ११ फागुन। आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानको लाहोरमा भएको चौथो खेलमा अष्ट्रेलियाले इङ्ग्ल्याण्डलाई पराजित गर्दै इतिहास रचेको छ। जोश इङ्गलिसको अविजित शतकको मद्दतले अष्ट्रेलियाले प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याएको हो।
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले सुरुवातमै इङ्ग्ल्याण्डलाई दबाबमा राख्यो। ६ ओभर भित्र दुई विकेट गुमाएको इङ्ग्ल्याण्डका लागि बेन डकेटले १६५ रनको साहसिक पारी खेले भने जो रुटले ६८ रन बनाए। यी प्रदर्शनकै भरमा इङ्ग्ल्याण्डले ३५१ रनको विशाल योगफल तयार गर्यो। अष्ट्रेलियाका लागि बेन द्वारशिवले तीन विकेट लिए।
३५२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २७ रनमै दुई विकेट गुमाए। तर, ट्राभिस सर्ट (६३) र लाबुस्चेन (४७) ले सम्हालिएको ब्याटिङ गर्दै टिमलाई खेलमा फर्काए। जोश इङ्गलिसको अविजित १२० रन र केरीको ६९ रनको मद्दतले अष्ट्रेलियाले १५ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो। म्याक्सवेलले पनि १५ बलमा ३२ रनको योगदान दिए।
यस ऐतिहासिक जितसँगै अष्ट्रेलियाले प्रतियोगितामा बलियो सुरुवात गरेको छ। आज च्याम्पियन्स ट्रफीको बहुप्रतिक्षित भिडन्त भारत र पाकिस्तानबीच हुँदैछ।





























