पोखरा, २८ कात्तिक – नेपालका विमानस्थलहरूको सञ्चालन र विकासका लागि आवश्यक रहेको इन्ट्री रुटको अभावले पर्यटन क्षेत्रमा चुनौती थपिएको छ। सरकारले विमानस्थलहरूको व्यवस्थापनका लागि गरेको अध्ययनको प्रतिवेदन कार्यान्वयन नहुँदा र भारतसँग भएको वार्तामा कुनै ठोस परिणाम नआउँदा यो समस्या झनै जटिल बन्दै गएको छ।

भारतको आकाश हुँदै आउने जहाजहरूलाई सिमराबाट मात्र नेपाल प्रवेश गर्न दिइने व्यवस्थाका कारण वायुसेवा कम्पनीहरूले अतिरिक्त समय र इन्धन खर्च गर्न बाध्य छन्। यसको प्रत्यक्ष मार यात्रुहरूले हवाई भाडामा बढी तिर्नुपर्ने अवस्थामा परेका छन्। पश्चिम नेपाल आसपासका विमानस्थलहरूमा जहाज अवतरण गराउनका लागि नेपालगञ्ज वा महेन्द्रनगरबाट जहाज प्रवेश गर्न पाउने गरी इन्ट्री रुट आवश्यक छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै भैरहवाबाट इन्ट्री रुट पाउनु अझै महत्वपूर्ण भएको छ। तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न भैरहवामा इन्ट्री रुट भए पनि व्यावहारिक नहुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय सिमानाबाट प्रवेश गर्ने जहाजलाई क्रमशः तल झार्दै अवतरणका लागि योग्य बनाउन झन्डै सिमरा–भैरहवा दुरी जत्तिकै ‘एयर स्पेस’ आवश्यक पर्ने भएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सहजताका लागि नेपालले पश्चिमतर्फ नेपालगञ्ज वा महेन्द्रनगरबाट इन्ट्री पाउनुपर्ने प्राधिकरणको भनाइ छ।

भारतले नेपालबाट उडेका जहाजलाई महेन्द्रनगरबाट बाहिर जान दिन्छ तर आउन दिँदैन। यसले गर्दा पश्चिम नेपाल हुँदै आउनुपर्ने जहाज समेत सिमरा फन्को मार्न बाध्य छन्। सिमरा रुटबाट प्रवेश गर्ने जहाज काठमाडौं आउनु र भैरहवा जानुमा औसतमा ७ मिनेट फरक पर्छ। तर, काठमाडौंमा हवाई ट्राफिक चाप हुँदा जहाजले सामान्यतया दुई/तीन फन्को नमारी पालो पाउँदैनन्। भैरहवामा अहिले तुलनात्मक रूपमा चाप कम छ।

सिमरा रुटबाट छिरेर भैरहवा अवतरण गरी भैरहवाबाट सिधै गन्तव्य फर्कने जहाजलाई भने अहिले काठमाडौंबाट पनि फाइदा छ। खाडी मुलुक जाने धेरैजसो जहाज काठमाडौंबाट उडेर महेन्द्रनगर वा भैरहवा आसपासबाट बाहिरिन्छन्। भैरहवाबाट उडेर महेन्द्रनगर हुँदै बाहिरिने जहाजले काठमाडौंको तुलनामा ३० मिनेटभन्दा धेरै समय र त्यो समय उड्दा खपत गर्ने इन्धन बचाउँछन्।

नेपालले एक दशकदेखि महेन्द्रनगरलाई दुईतर्फी बनाउन र नेपालगञ्ज र जनकपुरबाट प्रवेश बिन्दु उपलब्ध गराउन माग गर्दै आएको छ। तर, भारतले नेपालगञ्ज र महेन्द्रनगर माथिको प्रवेश बिन्दुमा सुरक्षाको कारण देखाउने गरेको छ। नेपालगञ्ज आउने रुटमा भारतीय सेनाको एयरबेश रहेको र त्यसले व्यापारिक उडानका जहाजलाई जोखिम निम्त्याउने भारतको दाबी छ।

इन्ट्री रुटको अभावले नेपालका विमानस्थलहरूको पूर्ण क्षमता उपयोग हुन सकेको छैन। यसले गर्दा पर्यटन प्रवर्द्धनमा बाधा पुगेको छ। सरकारले यस समस्या समाधानका लागि भारतसँग निरन्तर पहल गर्नुपर्ने देखिन्छ। साथै, विमानस्थलहरूको व्यवस्थापनका लागि गरिएको अध्ययनको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन पनि आवश्यक छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0